विराटनगर । प्लास्टिक जन्य उद्योगहरू सङ्कटमा परेका बेला जुस बिस्कुट र चकलेट उद्योगहरूमा पनि सङ्कट आउने भन्दै उद्योगीहरू चिन्तित भएका छन् ।  मध्यपूर्वमा भएको युद्धका कारण प्लास्टिक जन्य उद्योगहरू धराशायी भएका बेला भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै बिस्कुट, जुस र चकलेट उद्योगहरूमा पनि सङ्कट आउन सक्ने भन्दै उद्योगीहरूमा चिन्ता थपिएको हो ।

अहिले प्लास्टिक उद्योगलाई चाहिने कच्चा पदार्थ नआउँदा अधिकांश प्लास्टिक उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । प्लास्टिक उद्योगहरूले कच्चा पदार्थ अभावमा ७० प्रतिशत सम्म उत्पादन कटौती गर्दा त्यहाँ कार्यरत हजारौँ मजदुरले रोजगारी गुमाएका छन् । यही अवस्थामा भारत सरकारले सन् २०२६ को सेप्टेम्बर ३० सम्मका लागि चिनी निकासीमा (निर्यातमा) प्रतिबन्ध लगाएपछि नेपालका उद्योगी र व्यवसायीहरूमा चिन्ता छाएको छ ।

नेपालको आन्तरिक उत्पादनले मात्र बजार र उद्योगको माग धान्न नसक्ने अवस्था नरहेको भन्दै बेलैमा विकल्प खोज्न पर्ने उद्योगीहरूको सुझाव छ  । अहिलेलाई चिनीको स्टक रहे पनि यो प्रतिबन्ध कायमै रहे नेपालका जुस, बिस्कुट, चकलेट लगायतका उद्योगहरू सङ्कटमा पर्ने उद्योगीहरूले बताए  ।भारतले कम उत्पादन भएको  कारण देखाउँदै चिनी निकासीमा रोक लगाएको हो ।  नेपाल चिनी उत्पादक सङ्घले मौज्दात पर्याप्त रहेको र मूल्य नबढाइएको जानकारी गराएको छ । सङ्घका अनुसार चालु क्रसिङ सिजनसम्म १३ वटा चिनी उद्योग सञ्चालनमा आएका छन् ।

ती उद्योगहरूले १  लाख ९० हजार ८७० मेट्रिक टन चिनी उत्पादन गरेका छन् । उत्पादनमध्ये  करिब १ लाख ८ हजार मेट्रिक चिनी उद्योगमै मौज्दात रहेको सङ्घले जनाएको छ । बजारमा व्यवसायीहरूसँग अनुमानित २० हजार मेट्रिक टन चिनी मौज्दात रहेको अनुमान रहेको छ । 

चिनी उत्पादन सङ्घले चिनी मौजुद रहेको र सङ्कट नआउने भने पनि भारतबाट इलिगल च्यानलबाट चिनी आउने भएकाले त्यो रोकिए नेपाली उत्पादनले लामो समय धान्न नसक्ने उद्योगीहरू बताउँछन् । दैनिक उपभोगका लागि नेपाली उपभोक्ता चिनी किन्न भारतीय सीमावर्ती बजारमा पुग्ने गरेका छन् ।

सरकारले एक सय रुपैयाँ भन्दा बढिको सामानमा भन्सार लिने निर्णय गरेपछि दैनिक उपभोगका लागि इलिगल च्यानलबाट आउने चिनी रोकिएको र यसले माग र आपूर्तिको सन्तुलन  नमिल्ने उद्योगी बताँउछन । भारतीय सीमावर्ती बजारमा अहिले खुद्रा चिनीको मूल्य प्रति किलो ६५ देखि ७० रुपैयाँमा पाइन्छ ।

सिमानाको नेपाली बजारमा एक किलो चिनीको मूल्य  ९० रुपैयाँ देखि एक सय रुपैयाँ पर्छ । यसले गर्दा अधिकांश उपभोक्ता चिनी किन्न भारत पुग्ने गरेका थिए । केही समय यता एक सय रुपैयाँ भन्दा बढिको सामान आयातमा सरकारले कडाइ गर्दै आएको छ । भन्सारमा भएको कडाइसँगै माग र आपूर्तिको सन्तुलन बिग्रने उद्योगीहरू बताउँछन् । 

उद्योगी सगुन बोहराका अनुसार भारतमा बेमौसमी वर्षा र मौसमको प्रतिकूलताका कारण उखु उत्पादनमा  गिरावट आएको बताए । उनले यही समस्याका कारण भारतले  निर्यात रोक्ने निर्णय गरेको बताए । उनले भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा पनि दीर्घकालीन रूपमा पर्ने  बताए । उनले भने अहिले नै चिनी अभावमा उद्योगहरू बन्द नभए पनि केही समय पछि यसको असर पर्छ । नेपालका बिस्कुट, जुस र चकलेट उद्योगहरूमा सङ्कट आउँछ । 

चालु आर्थिक वर्षको हालसम्म नेपालमा करिब ६०–७० हजार मेट्रिक टन चिनी आयात भएको  छ । भारतले निर्यात रोके यसको असर ५ महिनापछि देखिने चकलेट तथा बिस्कुट उद्योगी महेश जाजु बताउँछन् । उनले दसैँ र तिहार जस्ता चाडबाडको समय आउने बेलासम्ममा चिनीको अभाव हुनसक्ने बताए । 

उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले नेपाली उत्पादनले केही महिना धाने पनि त्यसपछि के हुने हो ? भन्न सक्ने अवस्था नरहेको बताए । उनले भने नेपालमा जति चिनी आवश्यक पर्छ, त्यति चिनी  यहाँ उत्पादन हुँदैन । भारतले निर्यातमा रोक लगाउँदा यसको असर त पर्छ । 

भारतमा  २०२५–२६ को सिजनमा २ करोड ७५ लाख  चिनी उत्पादन भएको छ । भारतमा वार्षिक २ करोड ८० लाख टन चिनी  आवश्यक पर्दछ । मागभन्दा उत्पादन कम हुने र चिनीको मौज्दात पनि कम भएकाले भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो । 

तत्कालका लागि स्टकले धाने पनि नेपालको कुल माग र उत्पादनबिच  खाडल रहेकाले ५महिनापछि उद्योगहरू  सङ्कटमा फस्ने उद्योगी महेश जाजुले बताए । उनले भने  चिनीलाई मुख्य कच्चा पदार्थको रूपमा प्रयोग गर्ने जुस, बिस्कुट, कन्फेक्सनरी र चकलेट उद्योगहरू सबैभन्दा बढी मारमा पर्छन  ।