विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिलाई ‘क्यान्डिडेट क्लब’मा नाम दर्ता गर्न आह्वान गरे पनि कोशी प्रदेशका ४१ वटा स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार बन्न कसैले पनि आवेदन दिएका छैनन्।

प्रदेशका १३७ स्थानीय तहमध्ये ३० प्रतिशतभन्दा बढी पालिकामा रास्वपाबाट वडाध्यक्ष बन्ने आकांक्षी नदेखिएका हुन्।

नेपाल प्रेसलाई प्राप्त रास्वपाको आधिकारिक विवरणअनुसार प्रदेशका १४ जिल्लाका ९६ वटा पालिकाका वडाबाट मात्रै वडाध्यक्षका उम्मेदवार बन्न इच्छुकले क्यान्डिडेट क्लबमा नाम दर्ता गराएका छन्।

बाँकी ४१ पालिकाका कुनै पनि वडाबाट आवेदन परेको छैन। आवेदन नपरेका अधिकांश पालिका पहाडी तथा हिमाली जिल्लाका छन्।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनमा क्यान्डिडेट क्लबमा दर्ता भएका व्यक्तिमध्येबाट उम्मेदवार छनोट गर्ने घोषणा गरेको छ। तर, प्रदेशका एक तिहाइ हाराहारी पालिकामा वडाध्यक्षका लागि समेत आकांक्षी नदेखिनुले पहाडी जिल्लामा पार्टीको संगठनात्मक पहुँच र चुनावी तयारी कमजोर रहेको संकेत गरेको छ।

ताप्लेजुङका आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन, फक्ताङलुङ, फुङलिङ नगरपालिका, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकामा कुनै पनि वडाबाट वडाध्यक्षको उम्मेदवार बन्न आवेदन परेको छैन। त्यस्तै खोटाङका ऐसेलुखर्क, बराहपोखरी, दिप्रुङ चुइचुम्मा, हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुंगा, केपिलासगढी र साकेला गाउँपालिकामा पनि रास्वपाबाट वडाध्यक्ष बन्न चाहनेले नाम दर्ता गराएका छैनन्।

इलामका देउमाई नगरपालिका, फाकफोकथुम, इलाम नगरपालिका, माङसेबुङ, रोङ र सन्दकपुर गाउँपालिकामा पनि आवेदन परेको छैन। पाँचथरका हिलिहाङ, कुम्मायक, मिक्लाजुङ, फिदिम नगरपालिका, तुम्बेवा र याङवरक गाउँपालिकामा समेत वडाध्यक्षका आकांक्षी देखिएका छैनन्।

यसैगरी संखुवासभाका चैनपुर, मादी र पाँचखपन नगरपालिका तथा चिचिला, सभापोखरी र सिलिचोङ गाउँपालिकामा पनि आवेदन शून्य छ। भोजपुरका आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिका, धनकुटाका चौबिसे, छथर जोरपाटी र साँगुरीगढी गाउँपालिकामा पनि वडाध्यक्षका लागि कसैले नाम दर्ता गराएका छैनन्।

सोलुखुम्बुको महाकुलुङ, तेह्रथुमको मेन्छ्यायेम र उदयपुरको सुनकोशी गाउँपालिकामा समेत रास्वपाका तर्फबाट वडाध्यक्ष बन्न चाहनेको आवेदन नपरेको पार्टीको विवरणमा उल्लेख छ।

यता प्रदेशका तराईका जिल्लामा भने रास्वपाबाट उम्मेदवार बन्ने आकांक्षीको संख्या तुलनात्मक रूपमा बढी देखिएको छ। कोशी प्रदेशका वडाध्यक्षका उम्मेदवार बन्न क्यान्डिडेट क्लबमा कुल १ हजार ८२ जनाले आवेदन दिएका छन्।

सबैभन्दा बढी आवेदन मोरङमा परेको छ। मोरङका १७ पालिकाबाट ३२५ जनाले वडाध्यक्षको उम्मेदवार बन्न इच्छा देखाएका छन्। जिल्लाको धनपालथान गाउँपालिकामा ३८ र कटहरी गाउँपालिकामा ३२ जनाको आवेदन परेको छ।

सुनसरीका १२ पालिकाबाट २६९ जनाले आवेदन दिएका छन्। सुनसरीमा सबैभन्दा बढी भोक्राहा नरसिंह गाउँपालिकाबाट ४७ जनाले नाम दर्ता गराएका छन्। प्रदेशकै पालिकामध्ये यो सबैभन्दा बढी आवेदन हो।

त्यस्तै झापाका १५ पालिकाबाट २३६ जनाले आवेदन दिएका छन्। उदयपुरका सात पालिकाबाट १२९ जनाले नाम दर्ता गराएका छन्। उदयपुरको त्रियुगा नगरपालिकामा सबैभन्दा बढी ३९ जनाले वडाध्यक्षको उम्मेदवार बन्न आकांक्षा देखाएका छन्।

आवेदनको जिल्लागत विवरणले मोरङ, सुनसरी र झापामा रास्वपाप्रति उम्मेदवारीको आकर्षण बढी देखाउँछ।

तर पहाडी जिल्लाका ४१ पालिकामा वडाध्यक्षका लागि समेत आवेदन नपर्नुले प्रदेशभर समान रूपमा चुनावी आधार विस्तार गर्न पार्टीलाई चुनौती रहेको देखिन्छ।