विराटनगर । कोशी प्रदेशका पाँच जिल्लाका क्रिकेट संघले मात्रै नेपाल क्रिकेट संघ (क्यान)बाट मान्यता पाए पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित प्रदेशस्तरीय छनोटमा नौ जिल्लाले सहभागिता जनाएका छन्। क्यानको मान्यता प्राप्त जिल्लाभन्दा बाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगिताले प्रदेशमा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको संकेत गरेको छ।
कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरका क्रिकेट संघले मात्रै क्यानबाट मान्यता पाएका छन्। तर, प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको दशौं राष्ट्रिय खेलकुदका लागि पुरुष क्रिकेट छनोट प्रतियोगितामा भने प्रदेशका नौ जिल्लाका टोली सहभागी भएका छन्। प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा पहिलोपटक यति धेरै जिल्लाको सहभागिता भएको आयोजकले जनाएको छ।
विराटनगरस्थित मेरिलिबोन क्रिकेट मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा मोरङ, झापा, सुनसरी, इलाम, उदयपुरसहित धनकुटा, पाँचथर, खोटाङ र ताप्लेजुङका टोली सहभागी छन्। कात्तिक २७ देखि मंसिर १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिनेछ।
प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा मोरङले धनकुटालाई ९ विकेटले पराजित गरेको छ। दोस्रो खेलमा झापाले पाँचथरलाई १९३ रनको फराकिलो अन्तरले हराएको छ। झापाले दिएको २५४ रनको लक्ष्य पछ्याएको पाँचथर ६० रनमै समेटिएको थियो।
प्रतियोगिताको दोस्रो दिन सुनसरी र खोटाङ तथा इलाम र ताप्लेजुङबीच प्रतिस्पर्धा हुने प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिए।
क्यानबाट मान्यता पाएका पाँच जिल्लामा मात्रै सीमित नभई अन्य जिल्लाका खेलाडीलाई समेत प्रदेशस्तरीय छनोटमा अवसर दिइनुले यसपटकको प्रतियोगितालाई थप फराकिलो बनाएको छ। नौ जिल्लाको सहभागिताले राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटसँगै प्रदेशका विभिन्न जिल्लामा क्रिकेट खेलिरहेका खेलाडीको क्षमता पहिचान गर्ने अवसरसमेत सिर्जना गरेको छ।
प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगिताबाट छनोट भएका खेलाडीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्।











