सुनसरी । शुक्रबार ‘नहायखाय’ विधिबाट सुरु भएको छठ पर्वको धार्मिक अनुष्ठानअन्तर्गत शनिबार व्रतालुहरूले ‘खरना’ विधि गर्दै छन् ।
छठको दोस्रो दिन मनाइने खरनालाई ‘रस्याउ रोटी’ पनि भनिन्छ । यस विधिमा व्रतालुहरूले शनिबार साँझ छठी माताको पूजा गरी दूध र गुडबाट तयार पारिएको खीर (रस्याउ) तथा पुरी प्रसादका रूपमा ग्रहण गर्नेछन् ।
खरना विधिमा तयार पारिएको प्रसाद परिवारका सदस्य, आफन्त र इष्टमित्रलाई खुवाउने परम्परा छ ।
कतिपय व्रतालुले छरछिमेकीलाई समेत प्रसाद ग्रहणका लागि निम्तो दिने गर्छन् । खरनाको प्रसाद ग्रहण गर्ने व्रतालु तथा परिवारका सदस्यले दिनभर मासु, माछालगायत तामसिक भोजन नगरी शुद्ध शाकाहारी भोजन गर्ने चलन छ ।
शनिबार साँझ खरना विधि सम्पन्न गरेपछि व्रतालुहरू आइतबार दिनभर निर्जल र निराहार व्रत बस्नेछन् ।
आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइनेछ । त्यसपछि प्रसाद ग्रहण गरी व्रतालुले व्रत समापन गर्नेछन् ।
छठको मुख्य पूजा गर्न आइतबार साँझ व्रतालु तथा परिवारका सदस्यहरू नदी, पोखरी र अन्य जलाशय किनारमा बनाइएका छठ घाट पुग्नेछन् ।
नयाँ वस्त्र लगाएका परिवारका सदस्यले बाँसको छैंटीमा पूजाका सामग्री राखेर टाउकोमा बोकी घाटसम्म पुर्याउने परम्परा छ ।
विशेषगरी परिवारका पुरुष सदस्यले पूजासामग्री घाटसम्म पुर्याउने जिम्मेवारी लिने गर्छन् ।
घाटमा पुगेपछि व्रतालुले बाँसको सुपुलीमा नरिवललगायत विभिन्न पूजासामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् । त्यसपछि रातिसम्म घाटमै बसेर पूजा आराधना गर्ने परम्परा छ । केही व्रतालु राति घर फर्केर आँगनमा कोशी भर्ने विधि गर्छन् । यस पूजामा परिवारका सदस्य, आफन्त र छरछिमेकीसमेत सहभागी हुन्छन् ।
घाटमै बस्ने व्रतालु भने रातभर भजनकीर्तन गर्दै जाग्राम बस्ने गर्छन् ।
सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको मुख्य धार्मिक अनुष्ठान सम्पन्न हुनेछ ।
सूर्य र प्रकृतिको उपासना गरिने छठ पर्वमा परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै श्रद्धालुहरूले कठोर व्रत बस्ने गर्छन् ।











