सुनसरी । अविरल वर्षा र बाढी–पहिरोका कारण गम्भीर संकटमा परेको इलामलाई तत्काल ‘ इलाम संकट’ घोषणा गरेर राहत तथा सहयोग गर्न कोशी होटल व्यवसायी महासंघ प्रदेश समितिले सरकारसँग माग गरेको छ।
समयभन्दा अघि आएको मनसुन र निरन्तरको वर्षाले मेची राजमार्गअन्तर्गतको राजदुवाली सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त बनेको महासंघका महासचिव वासुदेव बरालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।
वैकल्पिक रूपमा प्रयोग हुँदै आएका सडकका पुल समेत बाढिले बगाएपछि इलामको यातायात सम्पर्क विच्छेद भएको छ। अस्थायी कजवे पनि बाढीले बगाउँदा आवतजावत पूर्ण रूपमा प्रभावित भएको महासंघले जनाएको छ।
दुई दिनदेखि खानेपानीको आपूर्ति बन्द रहेको, विद्युत सेवा समेत अवरुद्ध भएको तथा ग्यास अभावका कारण होटल तथा घरपरिवारलाई खाना पकाउन कठिन भएको विज्ञप्तिमा उल्लेख छ।
यस्तै बिरामीले समयमै उपचार नपाउने अवस्था सिर्जना भएको, स्थानीय कृषि उत्पादन बजारसम्म पुर्याउन नसकेर बारीमै कुहिने जोखिम बढेको तथा पर्यटकको आगमन शून्यजस्तै हुँदा होटल, पर्यटन तथा यातायात व्यवसाय पूर्ण रूपमा प्रभावित बनेको महासंघले जनाएको छ।
यस्तो कठिन अवस्थामा सरकारले तत्काल राहत तथा सहुलियतको व्यवस्था गर्नुपर्ने महासंघले माग गरेको छ।
प्रभावित क्षेत्रका स्थानीय तथा व्यवसायीहरुका लागि राहत प्याकेज ल्याउन, विद्युत, खानेपानी र इन्धनको नियमित आपूर्ति सुनिश्चित गर्न, बैंक ऋणको ब्याज तथा किस्ता भुक्तानीमा सहुलियत दिन, घरभाडामा लचकता अपनाउन र व्यवसायी पलायन हुन नदिन विशेष कार्यक्रम सञ्चालन गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गरेको महासंघका महासचिव बासुदेव बरालले बताएका छन् ।
संकटको यस घडीमा इलामका व्यवसायी तथा आम नागरिकसँग कोशी होटल व्यवसायी महासंघ पनि सँगसँगै रहेको महासचिव बरालले विज्ञप्तीमा उल्लेख गरेका छन् ।


















