इटहरी । इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसलाई इटहरी उपमहानगरपालिकाले कलेज बस दिने भएको छ । 
लामो समय देखी भाडामा कलेज बस सञ्चालन गर्दै आएको जनता क्याम्पसलाई बस अनुदान दिने भएको हो । यस्तै उपमहानगरपालिकाले नियमित रूपमा प्रदान गर्ने शैक्षिक अनुदानमा जनता बहुमुखी क्याम्पसलाई पनि अनुदान दिने प्रतिबद्धता जनाएको छ । 
क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिले आज इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेट गर्दै शैक्षिक सहयोगका लागि माग पत्र पेस गरेको थियो । 
क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसीले मेयर पौडेललाई माग पत्र बुझाएका थिए ।
क्याम्पस प्रशासनले माग गरे अनुसार उपमहानगरपालिकाले एक वटा कलेज बस दिने घोषणा गरेको समितिका अध्यक्ष विकास केसीले जानकारी दिए ।
अध्यक्ष केसीले भने, ‘हामीले लामो समय देखी आर्थिक घाटा व्यर्होदै कलेज बस सञ्चालन गरी रहेकाले २ वटा बस माग गरेका थियौँ । मेयर सावले १ बस किनिदिने घोषणा गर्नुभयो ।’
jmc college 1 1

 यस्तै, कलेज जाने बाटोमा पर्ने कलभर्ट निर्माणका लागि १८ लाख बजेट दिने, क्याम्पस भित्र ब्लक लगाइदिने र बाटोमा तत्काल २० ट्रिप गिटी हालेर बाटो बनाई दिने उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले घोषणा गरेको अध्यक्ष केसीले जानकारी दिए । 
क्याम्पस सञ्चालक समितिले निःशुल्क कलेज बस २ वटा,स्व.वि.यु. भवन निर्माण,प्राथमिक उपचार केन्द्र र स्टाफ नर्स, क्याम्पस भित्र ब्लक बिछ्याउने,कलेजको बाटोमा मिसगिटी २० ट्रिप, निर्माणाधीन प्रशासनिक भवनका लागि ५० लाख बजेट र नियमित रूपमा शैक्षिक अनुदान दिन उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसँग माग गरेका थिए । 
क्याम्पसले बुझाएको माग पत्र मध्ये अधिकांश माग मेयर पौडेलले पुरा गरिदिएका थिए । स्व.वि.यु भवन र प्रशासनिक भवनको लागि बजेट क्रमगत रूपमा सहयोग गर्ने उपमहानगरपालिकाले बताएको छ । 
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल जनता क्याम्पसका पूर्व विद्यार्थी तथा स्व.वि.यु सभापति हुन ।