सुनसरी । सुनसरीको इटहरीमा आगामी मंसिर १० गतेदेखि ‘हर्क साम्पाङ फुटबल कप’ आयोजना हुने भएको छ ।

श्रम संस्कृति पार्टी इटहरी युवा नगर समितिको आयोजनामा हुने प्रतियोगितामा कोसी प्रदेशका विभिन्न जिल्लाका नौवटा फुटबल टिमले प्रतिस्पर्धा गर्ने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

इटहरी रंगशालामा मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन कोसी प्रदेशका १४ वटै जिल्ला फुटबल संघलाई पत्राचार गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा युनाइटेड क्लब तरहरा, पथरी ११ मोरङ, रारा फुटबल क्लब राजारानी धनकुटा, चुलाचुली स्पोर्टिङ क्लब झापा, राष्ट्रिय जागृति क्लब इटहरी, ब्रदर्शहुड क्लब उदयपुर, रेडहर्स फुटबल क्लब इलाम, केडीएफए खोटाङ र कोदार फुटबल क्लब भोजपुरले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचलाई समेत पाँच हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक ताजिना विष्टले जानकारी दिइन् ।

प्रतियोगिताका लागि आवश्यक रकम दाताहरूबाट संकलन गरिने उनले बताइन् ।

उनका अनुसार हालसम्म अनुमानित खर्चको ६० प्रतिशत रकम संकलन भइसकेको छ भने बाँकी रकम संकलन गर्ने काम भइरहेको छ ।

प्रतियोगिताको उद्घघाटन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गर्ने कार्यक्रम रहेको छ ।

खेलकुदमार्फत युवालाई एकताबद्ध गर्ने, खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्ने तथा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापनका दिन चर्चित गायक राजेश पायल राईको सांगीतिक प्रस्तुति पनि रहने प्रतियोगिता संयोजक रोशन राईले जानकारी दिए ।

खेलकुदसँगै सांगीतिक कार्यक्रमसमेत समावेश गरेर प्रतियोगितालाई उत्सवका रूपमा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।

आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिसकेको छ ।

मंसिर १० गतेको उद्धघाटन खेल युनाइटेड क्लब र पथरी ११ बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।