सुनसरी । सर्भरमा आएको प्राविधिक समस्याका कारण यातायात व्यवस्था विभाग अन्तर्गत इटहरीस्थित सवारी चालक अनुमति पत्र कार्यालय र यातायात व्यवस्था कार्यालयको सेवा प्रवाह एक सातायता ठप्प भएको छ ।

केन्द्रीय सर्भर सञ्चालनमा नआएपछि दुवै कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाह अस्थायी रूपमा अवरुद्ध भएको जानकारी दिएका छन् ।

सर्भर समस्याका कारण सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा, सवारी दर्ता तथा नवीकरणलगायत अनलाइन प्रणालीमा आधारित अधिकांश सेवा रोकिएका छन् ।

कार्यालयले सेवा अवरुद्ध भएको सूचना सार्वजनिक गरेपछि कार्यालय परिसरमा सेवाग्राहीको चाप पनि उल्लेख्य रूपमा घटेको छ ।

तर अत्यावश्यक काम लिएर आएका सेवाग्राही भने सेवा नपाई निराश हुँदै फर्किन बाध्य भएका छन् ।

विभागको केन्द्रीय प्रणालीमा आएको समस्याका कारण स्थानीय कार्यालयले चाहेर पनि सेवा सञ्चालन गर्न नसकेको यातायात व्यवस्था कार्यालय सवारी इटहरीका प्रमुख मानबहादुर देवकोटाले बताए ।

कार्यालयले सर्भर सञ्चालनमा आउने बित्तिकै नियमित सेवा पुनः सुरु गरिने जनाएको छ । बारम्बार दोहोरिने यस्ता प्राविधिक अवरोधले सार्वजनिक सेवा प्रवाहको विश्वसनीयता र सेवाग्राहीको समय तथा खर्चमाथि प्रश्न उठ्ने गरेको छ ।