विराटनगर। कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको पाँच वर्षे कार्यकाल पूरा भएसँगै कोशी प्रदेश प्रमुखविहीन बनेको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा २०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखमा नियुक्त भएका खापुङको कार्यकाल कात्तिक २४ गतेबाट विधिवत् रूपमा समाप्त भएको हो। प्रदेश प्रमुखको कार्यकाल समाप्त भएको चार दिन बितिसक्दा पनि सरकारले अझै प्रदेश प्रमुख पठाउन सकेको छैन। कुनै पनि प्रदेश प्रमुखलाई कोशीको जिम्मेवारी दिएको छैन भनेँ यो समाचार तयार पार्दासम्म कुनै पनि व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गरेको छैन।
खापुङको बहिर्गमनसँगै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख खापुङप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका छन्। प्रदेशको विकास, समृद्धि र अभिभावकत्व प्रदान गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई सुव्यवस्थित बनाउन खापुङले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए। प्रदेश प्रमुख रिक्त भएको अवस्थामा प्रदेशका कामकारबाहीमा बाधा पुग्ने बताए।
अब संवैधानिक रूपमा के हुन्छ?
नेपालको संविधानको धारा १६५ अनुसार प्रदेश प्रमुखको पदावधि समाप्त भएमा पद रिक्त हुने व्यवस्था छ। पद रिक्त भएको अवस्थामा रिक्त हुनभन्दा अघि नै नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम नयाँ प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई कोशी प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने संवैधानिक प्रावधान रहेको छ।
संवैधानिक व्यवस्था अनुसार, अर्को प्रदेशको प्रदेश प्रमुखले तोकिएको कोशी प्रदेशको समेत अतिरिक्त जिम्मेवारी सम्हाल्नेछन्। उनले सो प्रदेशको मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ ग्रहण गराउने, प्रदेश सभाको अधिवेशन आह्वान वा अन्त्य गर्ने, तथा विधेयक प्रमाणीकरण गर्ने जस्ता संवैधानिक कार्यहरू गर्नेछन्।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १६३ बमोजिम योग्य व्यक्तिलाई नयाँ प्रदेश प्रमुखको रूपमा नियुक्त गर्ने संविधानमा व्यवस्था रहेको छ । संविधानले यति नै दिनभित्र नयाँ प्रदेश प्रमुख नियुक्त गरिसक्नुपर्ने भनी कुनै निश्चित समय सीमा भने तोकेको छैन। त्यसैले नयाँ नियुक्ति नभएसम्म अर्को प्रदेशको प्रमुखलाई कामकाजको जिम्मेवारी तोकिएको अवस्थामा तिनै व्यक्तिले प्रदेशको काम गर्न सक्ने व्यवस्था रहेको छ। प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाले अहिलेसम्म नयाँ प्रदेश प्रमुख तोकिएको बारेमा आधिकारिक कुनै पनि जानकारी कार्यालयलार्ई जानकारी नभएको जानकारी दिइन्। ‘आज सरकारी कार्यालयहरू खुल्ने भएको कारण आज कुनै जानकारी आउँछ की भन्ने हो,’ उनले भनिन्, ‘अहिलेसम्म इमेल वा फोन मार्फत प्रदेश प्रमुख तोकिएको बारेमा जानकारी आएको छैन।’ कात्तिक २४ गतेदेखि रिक्त रहेको कोशी प्रदेशको प्रमुखमा शुक्रवार बिहानसम्म कसैलाई पनि नियुक्त तथा जिम्मेवारी तोकिएको छैन।
















