सुनसरी । इटहरीको भिडभाड र धुलाम्मे सडक पार गरेर केही मिनेट उत्तरतिर उक्लिँदा अचानक हावापानी फेरिन्छ । सहरको कोलाहल बिस्तारै बिलिन हुँदै जान्छ । र, कानमा चराको चिरबिराहट गुन्जिन थाल्छ । 
अगाडि फैलिएको शान्त जलाशयमा हावासँगै हल्का तरङ्ग उठिरहेका हुन्छन्, किनारमा उभिएका रुख पानीमा आफ्नै छायाँ कोरिरहेका हुन्छन् । त्यही जल, हरियाली र कलाको संगम हो–ताल तलैया ।
प्राकृतिक ताल, सिमसार, जैविक विविधता र मानव सिर्जनाको अनुपम मेलले ताल तलैयालाई केवल घुम्ने ठाउँ बनाएको छैन; प्रकृति, जनावर र मानिसबिचको सहअस्तित्वको जीवित उदाहरण बनेको छ यो । जहाँ, प्रकृतिले दिएको उपहारमाथि मानवले ललितकलाको सौन्दर्य थपेको छ र त्यसले कोसी प्रदेशकै एक विशिष्ट पर्यटकीय गन्तव्यको रूप लिएको छ । 
सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ को करिब २० हेक्टरमा फैलिएको ताल तलैया, पूर्व–पश्चिम राजमार्गको जुट विकास चोकबाट करिब पाँच किलोमिटर उत्तरमा छ । तरहरा चोकबाट कृषि अनुसन्धान केन्द्र हुँदै पुग्न सकिने यो क्षेत्र अहिले बालबालिका, युवा र प्रौढ सबैका लागि एक पटक पुग्नै पर्ने गन्तव्य बनेको छ ।
प्रकृतिले दिएको वरदानलाई संरक्षण र विकासको दृष्टिले सम्हाल्दा एउटा ठाउँ कसरी प्रदेशकै पहिचान बन्न सक्छ भन्ने उदाहरण हो–ताल तलैया । यो प्राकृतिक सिमसार क्षेत्र अहिले कोसी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनुमा केवल प्रकृतिको सौन्दर्य मात्र होइन, त्यसको संरक्षण, विस्तार र पूर्वाधार विकासमा कोसी प्रदेश सरकारको निरन्तर लगानी अनि चासो पनि उत्तिकै जिम्मेवार छ । कुनै बेला स्थानीयको सामान्य घुमफिर र प्राकृतिक अवलोकन स्थलमा सीमित ताल तलैया अहिले योजनाबद्ध विकाससँगै प्रकृति, जैविक विविधता र मानव सिर्जनाको संगम बनेको छ । प्रदेश सरकारको सहयोगमा भौतिक संरचना विस्तार, पर्यटकीय पूर्वाधार निर्माण, संरक्षण अभियान र सौन्दर्यीकरणका कामले ताल तलैयाको स्वरूप फेरिएको छ । taltalaiya
ताल तलैया नामजस्तै रमणीय छ ठाउँ पनि । ठुला–ठुला ताल, बिच–बिचमा थुम्का–थुम्की र टापु अनि दहमा फुलेका कमलले यो ठाउँलाई थप सुन्दर बनाएका छन् । ताल तलैयामा साना–ठुला ७ ताल  छन् । त्यसमध्येको एउटा ठूलोे ताललाई वरिपरि ढुङ्गाको पर्खाल लगाएपछि अहिले मोटर बोट सञ्चालन गर्न थालिएको छ । घुम्न आएका मानिस  मोटर बोट चढेर आनन्द लिन्छन् । पश्चिमतर्फको अर्को ठूलोे तालमा जलपरी, पाइडलबोट सञ्चालन गरिएको छ । पोखराको फेवातालमा जस्तै आफैले पाइडल बोट चलाएर आनन्द लिन सकिन्छ । यहाँ घुम्न आउने प्रायः सबैले मोटर बोट, जलपरी, पाइलड बोटमा आनन्द लिने गरेका छन् । 
यहाँका तालको संरक्षण गर्दै त्यसलाई व्यावसायिक रूपमा विकास गर्न कोसी प्रदेश सरकारले सहयोग गरिरहेको छ । पूर्वतर्फको ठूलोे तालमा ढुङ्गाको पर्खाल लगाउन कोसी प्रदेश सरकारले सहयोग गरेको हो । तालमा सञ्चालनमा आएको मोटर बोट पनि कोसी प्रदेश सरकारले नै प्रदान गरेको हो । बालमैत्री पार्क बालबालिका तथा स्कुलका विद्यार्थीको घुम्न उपयुक्त ठाउँ बनेको छ । सहरबाट नजिकै प्राकृतिक वातावरणमा बालबालिकालाई खेल्न तथा घुम्न ताल तलैयाको बालमैत्री पार्क रोजाइमा पर्ने गरेको छ । चिप्लेटी, पिङ, घुम्ने पिङमा बालबालिका रमाउने गरेका छन् । विभिन्न जनावर र कार्टुनको आकृतिमा बालबालिका रम्ने गरेका छन् । विभिन्न स्कुलले आफ्ना विद्यार्थी घुमाउन यहाँ ल्याउने गरेका छन् । अभिभावक पनि छुट्टीको दिन बालबालिका घुमाउन आउने गरेका छन् । 
चिडियाघर यहाँ अर्को आकर्षणका रूपमा छ । ‘मिनी–जु’का रूपमा ताल तलैयाले वन्यजन्तु संरक्षण गरेर राखेको छ । मयुर, हुचिल, चित्तल, दुम्सी, गिद्ध, स्याल, चिल, बाँदर, कछुवा, अजिङ्गर जस्ता थुप्रै जनावरहरू मिनी जुमा छन् । वन उपभोक्ता समितिका सदस्यहरूले फेला पारेका, चोरी–सिकारको जोखिममा परेका लोपोन्मुख वन्यजन्तु यहाँ संरक्षण गरिएको छ । यहाँ घुम्न आएका पर्यटक चिडियाघरमा पुगेर वन्यजन्तुलाई नजिकबाट नहेर्ने कमै हुन्छन् ।
ताल तलैया प्रकृति र मानवबिचको अनौठो संयोग पनि हो । प्रकृतिले दिएको उपहारमा मानिसले कुँदेका मूर्तिले सुनमा सुगन्ध थपिदिएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञिक मूर्तिकारसँगै जर्मनी, जापान, मलेसिया, इजरायल, भारतदेखि आएका प्रसिद्ध मूर्तिकारले ढुंगामा कुँदेर आकर्षक मूर्ति बनाएका छन् । धरानको सर्दु जलधारबाट ल्याइएका ढुङ्गालाई करिब एक महिनासम्म चलेको कार्यशालाबाट विभिन्न २८ मूर्ति  निर्माण गरिएका छन् । मानिसको मुटु, आमाको प्रतिमा, माछाको प्रतिमा, पृथ्वी र विज्ञानलगायत आकर्षक मूर्तिले यहाँ घुम्न आउने पर्यटकको ध्यान तान्ने गरेको छ । 
मूर्तिमा कुँदिएको कला र त्यसले व्यक्त गरेको भावलाई देखेर पर्यटक मन्त्रमुग्ध हुने गर्छन् । ‘हामीले यहाँ केवल मूर्ति बनाएका होइनौँ, प्रकृति र कलाबिचको सम्बन्धलाई जीवित राख्ने प्रयास गरेका छौँ,’ मूर्तिकार विक्रम श्री भन्छन्, ‘ढुंगामा कुँदिएका हरेक आकृतिले कुनै न कुनै कथा बोलिरहेका हुन्छन् ।’
ताल तलैयाको अर्को महत्त्वपूर्ण आकर्षण वनभोज स्थल पनि हो । अमलाको रुखमुनि वनभोज खान यहाँ कोसी प्रदेशका विभिन्न जिल्लासँगै मधेस र बाग्मती प्रदेशका जिल्लाबाट पनि मानिस आउँछन् । वनभोज खान सहज बनाउन ताल तलैया संरक्षण समितिले विभिन्न गोल घर बनाइदिएको छ । जहाँ, बिजुली, पानी र शौचालयको व्यवस्था गरिएको छ । विद्यालय, कलेजका विद्यार्थी, देउसीभैलीका टोली, क्लब, समूहहरू  वनभोज खानका लागि आउने गरेका छन् । पछिल्लो समय भने विभिन्न संघसंस्था, सहकारी, बैङ्क, वित्तीय संस्थाले वनभोजसँगै वार्षिक साधारण सभा तथा अन्य कार्यक्रम  पनि यहाँ आयोजना गर्ने गरेका छन् । taltalaiya pic2
घुम्नलाई रमणीय ठाउँ, पानी–बिजुलीसहितको सुविधा भएको र सहरको नजिकै रहेकाले पनि ताल तलैया वनभोज खान रोजाइमा पर्ने गरेको आगन्तुक बताउँछन् । परिवार र साथीभाइसँग रमाइलो गर्न योभन्दा राम्रो ठाउँ पाउन गाह्रो छ,’ वनभोज खान आएका दमक झापाका प्रेमचन्द्र बास्तोला भन्छन्,  ‘यहाँ सहरको कोलाहल छैन, खुला ठाउँ छ । रमाइलो र आनन्द पनि छ ।’
उदयपुर बेलकाका विवेक खतिवडाको अनुभव पनि उस्तै छ । ‘वनभोज मात्रै होइन, तालमा बोटिङ र घोडचढीको मजा लिन पनि पाइने रहेछ यहाँ । एकै ठाउँमा धेरै अनुभव लिन सकिन्छ,’ उनले भने ।
१ नम्बर गेटतर्फ सानो–ठुलो समूहका लागि र २ नम्बर गेटतर्फ ठुलो कार्यक्रमसहितको वनभोज खाने व्यवस्था मिलाइएको छ । विशेष गरी शनिवार र छुट्टीको दिन वनभोज खानेको घुइँचो लाग्ने गरेको छ । मङ्सिर देखी फागुन मसान्तसम्म वनभोज खान मानिसहरू  यहाँ आउँछन् । सिजन र अफ् सिजन गरी वर्षमा करिब एक हजार तीन सयभन्दा बढी समूहले वनभोज खाने गरेको ताल तलैया संरक्षण समितिले जानकारी दिएको छ । 
वनभोज खान आएकाहरू तालमा मोटर बोट सफारी, पाइडल सफारी, जलपरी रिक्सामा मनोरञ्जन लिने गरेका छन् । ताल तलैयामा पर्यटकका लागि घोडचढी सवारीको व्यवस्था पनि मिलाइएको छ । सिजनमा वनभोज खान आउनेसँगै अफ् सिजनमा पनि यहाँ नियमित रूपमा घुम्न, हरियाली वनजंगल र ताल तलैयाको आनन्द लिन यहाँ आउँछन् । जैविक विविधता, ताल, पोखरी, वन–वनस्पति, वन्यजन्तुलगायतको अध्ययन अनुसन्धानका लागि पनि मानिस यहाँ आउने गरेका छन् । 
मूर्तिकलाको अध्ययनका लागि मानिसहरू यहाँ आउने गरेका छन् । वर्षमा करिब पाँच लाख आन्तरिक र बाह्य पर्यटकहरू आउने गरेको ताल तलैया संरक्षण तथा विकास समिति सदस्य टंक दाहालले जानकारी दिए । ‘पहिले यहाँ जलकुम्भीले ढाकिएको सिमसार मात्रै थियो,’ दाहाल भन्छन्, ‘आजको यो रूप लिन स्थानीय समुदाय, वन उपभोक्ता समिति र तीनै तहका सरकारको योगदान छ ।’
ताल तलैयाले यहाँसम्म आइपुग्न निकै आरोह–अवरोह पार गरेको स्थानीय बताउँछन् । करिब १५ वर्षअघि ताल तलैया केवल सिमसार थियो । तालहरू जलकुम्भीले ढाकिएका थिए । भित्र हिँड्न बाटो थिएन । बस्न कुनै कटेज वा गोलघर थिएनन् । जङ्गली झारले घेरिएको थियो । तर, २०६६ सालबाट औपचारिक रूपमा वडा २ को शान्तिनगर सामुदायिक वन उपभोक्ता समूह र वडा ३ को सरस्वती सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतको ७६.७५ हेक्टरलाई एकीकृत गरी ताल तलैया विकास तथा संरक्षण समितिअन्तर्गत ल्याएर सौन्दर्यीकरण सुरु गरिएको हो । 
जसमध्ये, हाल २० हेक्टर क्षेत्रफल प्रयोगमा छ भने अन्य वन क्षेत्र छ । २०६६ सालमा औपचारिक रूपमा सुरु भएको ताल तलैयालाई पर्यटकीय गन्तव्य बनाउने अभियान अब भने बिस्तारै सार्थक हुँदैछ । यो लामो अभियानमा यहाँका बासिन्दा र वन उपभोक्ता समितिको योगदान धेरै छ । ताल तलैयालाई यहाँसम्म ल्याउन स्थानीय सरकार, कोसी प्रदेश सरकार र संघीय सरकारको पनि ठूलोे लगानी छ । 
ताल तलैयाभित्र भवन, खानेपानीको व्यवस्था मिलाउने, कल्भर्ट, सार्वजनिक चर्पी, वनभोजका लागि कटेज तथा गोलघर निर्माण, त्यहाँ पुग्ने भित्री गोरेटोमा टायल लगाउने, ढलान गर्नेलगायत भौतिक पूर्वाधार विकासका काममा तीन तहका सरकारकै ठूलोे लगानी छ । 
विशेष गरी ताल तलैयाको विकासका लागि कोसी प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण छ । कोसी प्रदेश सरकारले वर्ष २०८२ लाई ‘पर्यटन वर्ष’ घोषणा गरी प्रचारप्रसारको कामलाई तीव्रता दिएको थियो । जसअनुसार, प्रदेशभित्रका घुम्नैपर्ने पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरी त्यहाँको विकासका लागि काम सुरु गरिएको छ । 
त्यसैअनुसार प्रदेशको घुम्नैपर्ने सूचीमा ताल तलैया पनि छ । ताल तलैयाको विकास र संरक्षणका लागि प्रदेश सरकारले क्रमिक रूपमा लगानी गरिरहेको छ । प्रदेश सरकार स्थापना भएको वर्षदेखि नै ताल तलैयालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढेको थियो । त्यसैअनुसार, प्रत्येक वर्ष यहाँ भौतिक पूर्वाधार निर्माणदेखि अन्य संरक्षण र विकासका कार्यमा लगानी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले जानकारी दिए । Taltalaiya
आर्थिक वर्ष २०७८/०७९ मा पोखरी संरक्षणका लागि एक करोड ५० लाख, आव २०७९/०८० मा मोटर बोट र ट्रि–हाउसका लागि ५० लाख रुपैयाँ विनियोजन गरी काम सम्पन्न भएको छ । प्रदेश सरकारले ताल तलैयामा रहेका जीवजन्तुको संरक्षण गर्न आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख रुपैयाँ लगानी गरेको थियो, जसबाट वन्यजन्तुका लागि घरबास व्यवस्थापनको काम गरिएको छ । आव २०८१/०८२ मा जलाधार संरक्षण कार्यालयले १३ लाख रुपैयाँ पोखरी संरक्षणका लागि लगानी गरेको छ । 
आर्थिक वर्ष २०८१/०८२ का मा पनि पोखरी विस्तार र संरक्षणका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसले पोखरी विस्तार गर्दै वरिपरि नाली निर्माणलगायतका काम भइरहेको ताल तलैया संरक्षण तथा विकास आयोजनाले जनाएको छ । ताल तलैयामा सार्वजनिक शौचालय, ट्रस्टसहितको हल निर्माण र पार्क व्यवस्थापनका लागि गत आर्थिक वर्ष संघीय सरकारबाट एक करोड पाँच लाख रुपैयाँ विनियोजन भएको थियो । जसअनुसार पूर्वाधार निर्माणको काम धमाधम भएको समितिको भनाइ छ । 
ताल तलैयाको बृहत्तर विकासका लागि कोसी प्रदेश सरकारले गुरुयोजना तयार गरेको छ । त्यसैअनुसार, लगानी आकर्षित गर्न लगानीकर्ता खोजी गरिरहेको समितिले जनाएको छ । ताल तलैयामा अहिले सुरक्षा चुनौती भने बढेको समितिको भनाइ छ । चार कोसे जंगल जोडिएको र खुला क्षेत्रबाट आउने जङ्गली जन्तुबाट असुरक्षा बढेको हो । पछिल्लो समय हात्तीको जोखिम बढेको हुँदा ताल तलैयाको क्षेत्र विस्तार गरी घेराबारा गर्नुपर्ने आवश्यकता देखिएको छ । 
ताल तलैयाको गुरुयोजनाअनुसार नै विकास गर्न स्थानीय स्तरबाट थोरै–थोरै लगानी गर्दै आएको वडा २ अध्यक्ष माधव कोइरालाको भनाइ छ । ठूलोे आर्थिक लगानी आवश्यक पर्ने भएकाले प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरी अघि बढ्नुपर्ने अवस्था रहेको उनले जनाए । वडाध्यक्ष कोइराला भन्छन्, ‘स्थानीय, प्रदेश र संघीय सरकार बिच सहकार्य भयो भने ताल तलैयालाई अझ ठुलो पर्यटकीय केन्द्र बनाउन सकिन्छ ।’ 
ताल तलैयाको विकासको गतिले यो ठाउँलाई केवल घुमफिर र वनभोजको गन्तव्यमा सीमित नराखी मनोरञ्जन, जैविक विविधता र मूर्तिकलाको अध्ययन–अनुसन्धान केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना बलियो बनाएको छ । पूर्वी नेपाल घुम्न आउने पर्यटकका लागि ‘एक पटक पुग्नैपर्ने’ गन्तव्यका रूपमा यसको पहिचान अझ मजबुत बन्दै गएको छ । तर, यो सम्भावनालाई अझ व्यापक बनाउन छिमेकी पर्यटकीय क्षेत्रहरूसँग सहकार्य गर्दै समग्र पर्यटन सर्किट निर्माण गर्नु आवश्यक देखिन्छ । त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकार बिचको समन्वय र निरन्तर लगानी अपरिहार्य छ । प्रकृतिले उदार भएर दिएको यो अनुपम उपहारलाई जोगाउँदै अझ परिष्कृत बनाउन सकियो भने ताल तलैया भविष्यमा कोसी प्रदेशको मात्र होइन, देशकै एक नमुना पर्यटकीय गन्तव्य बन्न सक्छ ।