विराटनगर । श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले जेठी श्रीमतीसँगको सम्बन्ध कानुनी रूपमा नै टुङ्गिएको बताएका छन् । उनले मानिसको आ आफ्नै विगत हुने भन्दै जेठी श्रीमतीलाई आफूले घरेलु हिंसा नगरेको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा आहिले भाइरल भएको अदालतको फैसला र जेठी श्रीमती दिलमाया राईले लगाएको आरोप सबै मिथ्या भएको दाबी गरेका छन् । साम्पाङले आफ्नो पहिलो वैवाहिक सम्बन्ध र त्यससँग जोडिएका आरोपहरूबारे स्पष्टीकरण दिँदै आफूमाथि लगाइएका घरेलु हिंसाका आरोपहरू पूर्ण रूपमा मिथ्या भएको दाबी गरेका छन् ।
उनले कन्टेन्ट क्रिएरटरहरुसँग कुरा गर्दै आफू प्रश्नहरूबाट नभाग्ने बताए । उनले भने , १२ वर्ष पर्खँदा पनि जेठी श्रीमतीले डिर्भोस गर्न चाहेकाले उहाँको इच्छा अनुसार नै आफूहरू छुट्टिएका हौँ । यो आजभन्दा करिब २० देखि २५ वर्ष अघिको कुरा हो ।’ १२ वर्षको लामो पर्खाइपछि पुनः मिलनको प्रस्ताव राख्दा जेठी श्रीमतीले अस्वीकार गर्दै मुद्दाहरू दर्ता दायर गरेको दाबी गरे ।
साम्पाङ्को जेठी श्रीमतीका तर्फबाट छोरी समेत भएको बताए । उनले अहिले छोरीको जिम्मेवारी र हेरचाह नगरेको भनेर सामाजिक सञ्जालमा उठेका प्रश्न प्रति छोरीलाई आफैँले पढाएको र विवाह नभएसम्म आफैँसँग राखेर हुर्काएको दाबी गरे । उनले भने, झुटो बोल्दिन, रुखो बोल्छ ।
के हो ? जेठी श्रीमतीसँगको विवाद ?
प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट निकाला गरेको भन्दै सुनसरी जिल्लामा परेको मुद्दाको फैसला अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सो फैसलामा जिल्ला अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ।
दिलमायाले २०७३ असोज ६ गते सुनसरी जिल्ला अदालतमा मुद्य दायर गरेकी थिइन् । दिलमायाले दायर गरेको फिराद पत्रमा न्यायाधीश मणिराम न्यौपानेको इजलासले २०७६ असार १२ गते फैसला गरेको थियो । फैसलामा हर्क साम्पाङ का दाजुभाइ सहित सगोल सम्पत्ति पाँच अंशियार कायम गरी एक अंश जेठी पत्नी दिलमाया राईलाई छुटाउनुपर्ने ठहर गरेको छ ।
अदालतद्वारा सम्पत्ति पाँच भाग लगाएर हर्क साम्पाङको भागमा पर्ने एक हिस्सालाई हर्क साम्पाङ, दिलमाया र छोरी एलिसाबीच ३ भाग लगाएर दिलमायालाई त्यसको एक भाग अंश दिनुपर्ने ठहर गरेको छ ।
अदालतले नाता, पुस्तावली तथा पेस भएका प्रमाणहरू अध्ययन गरी हर्कराज राई, उनका दाजुहरू आशय कुमार राई र एकराज राई, आमा जसमाया राई, धनकुमारी राई गरी पाँच अंशियार कायम गरिएको फैसलामा उल्लेख ।
दिलमायाको फिराद पत्रमा वैवाहिक जीवन सुरु भएदेखि नै पति हर्कराजसँग झैँ झगडा र कुटपिट हुने गरेको फिराद गरेकी छन् । हर्कराजले परस्त्रीसँग नाजायज सम्बन्ध राखेको आरोप समेत फिराद पत्रमा लगाएकी छन् ।
हर्क साम्पाङ वैदेशिक रोजगारीमा गएको र विदेशबाट फर्र्कीएर पनि आफू माथि हिंसा गरेको उनले दाबी गरेकी छन् । उनले फिराद पत्रमा भनेकी छन्, साम्पाङ विदेशबाट फर्केर पनि त्यस्तै सम्बन्ध कायम राखेको र उल्टै आफूलाई कुटपिट गरी ज्यानै जाने अवस्था सिर्जना गरेको दाबी गरेकी छ । उनले फिराद पत्रमा प्रहरीमा रिपोर्ट गरेपछि हर्कराजले ‘के गर्नु पर्छ गर, कहाँ जानु पर्छ जा, तँलाई घरमा बस्न दिन्न, खान लाउन पनि दिन्न’ भन्दै कुटपिट गरी घरबाट निकाला गरेको उल्लेख गरेकी छन् ।
दिलमाया वैदेशिक रोजगारीमा गएकी छन् । लामो समय उनी दुबई बसेको र अहिले इजरायल पुगेको बताइन्छ । उनकी छोरी भने धरानमा बस्दै आएकी छन् ।

















