विराटनगर। धरान उपमहानगरपालिका वडा नम्बर ११ की सुनिता तामाङ शुक्रवार दिउँसो स्वास्थ्य केन्द्रमा भेटिइन्। धरान ११ स्थित स्वास्थ्य केन्द्रमा उनी मात्र थिइनन् विगत ३ दिनदेखि अन्य महिलाहरू पनि त्यहाँ आफ्ना समस्या लिएर पुगेका थिए। उनी त्यहाँ पुग्नु सामान्य स्वास्थ्य परीक्षण मात्र थिएन, बरु आफ्नै शरीरभित्र गुम्सिएका धेरै डर र दुबिधा सुल्झाउने एउटा अवसर थियो। बिहीबार दिउँसो मात्रै आफ्ना दिदी(बहिनीले शिविरमा पुगेर लिएको लाभको बारेमा थाहा पाएपछि उनी परीक्षणका लागि शुक्रवार धरान ११ स्थित स्वास्थ्य केन्द्र पुगेकी थिइन्। पाठेघरको क्यान्सर, छातीमा हुने गाँठागुँठी, सेतो पानी बग्ने, महिनावारीका असन्तुलन र आङ खस्ने समस्याका विषयमा परीक्षण तथा जानकारी पाइन्छ भन्ने थाहा पाएपछि उनी आफ्ना गुम्सिएका स्वास्थ्य समस्या खुलेर राख्ने आँट बोकेर त्यहाँ पुगेकी थिइन्। उनले भनिन्, ‘यहाँ धेरै समस्याको बारेमा थाहा हुन्छ भन्ने सुनेपछि मात्रै आएको हुँ।सुनिता जस्ता धेरै महिलाहरू जसले आफ्ना प्रजनन स्वास्थ्यका समस्यालाई लाज वा सङ्कोचका कारण सहेर बसेका थिए, उनीहरूका लागि यो एकीकृत स्वास्थ्य शिविर समस्या थाहा पाउने थलो बनेको थियो। 

846319753_2319644265453444_8705414832924594610_n

जिल्ला स्वास्थ्य कार्यालय सुनसरी, धरान उपमहानगरपालिका र करुणा फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सुनसरीमा पहिलो पटक धरानबाट महिला प्रजनन स्वास्थ्य सम्बन्धी एकीकृत शिविर सुरु भएको हो। धरानमा गरिएको महिला प्रजनन स्वास्थ्य सम्बन्धी एकीकृत शिविर पहिलो पटक तीन दिनका लागि आयोजना गरिँदा धेरै महिलाहरूले जीवनमा सकारात्मक तरङ्ग महसुस गरे।

धरान ११ स्थित स्वास्थ्य केन्द्रमा कार्यरत स्टाफ नर्स झुमा राईका अनुसार, सामान्यतया महिलाहरू एउटा मात्र मुख्य समस्या लिएर स्वास्थ्य शिविर पुग्ने गर्छन्। तर विस्तृत परीक्षण गर्दै जाँदा उनीहरूमा स्तनमा गाँठो देखिने, पाठेघर खस्ने, पिसाब थैली कमजोर भएर तल झर्ने तथा निःसन्तानपन जस्ता अनेकौँ लुकेका जटिल समस्याहरू फेला परेका छन्। अझ संवेदनशील कुरा त के छ भने, शिविरमा गरिएको पाठेघरको मुखको जाँचका क्रममा करिब १० जनामा १ देखि २ जना महिलाहरूमा क्यान्सर जोखिम को सम्भावना भेटिएको छ। यस्ता जटिल समस्या देखिएका महिलाहरूलाई तत्कालै आवश्यक उपचार सेवा दिनुका साथै थप उपचारका लागि उपयुक्त स्वास्थ्य संस्थामा रेफर गरी पुनः फर्काउने भरपर्दो व्यवस्था मिलाइएको राईले जानकारी दिइन्। 

848614825_1752996529144203_2110030205871272727_n

धरान उपमहानगरपालिकाका नर्सिङ अधिकृत दिपा अधिकारीले उपमहानगरपालिकाले २० वर्ष वा सोभन्दा बढी उमेरका महिलाहरूलाई लक्षित गर्दै यो अभियान सुरु गरेको हो। स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या, पिसाब चुहिने समस्या तथा निःसन्तानपन जस्ता स्वास्थ्य समस्याहरूको एकीकृत व्यवस्थापन गर्न शिविर आयोजना गरिएको हो। ‘शिविरमा महिलाहरूको विगतको स्वास्थ्य इतिहास बुझेर स्क्रिनिङ गर्ने कार्य गरिन्छ। उनले भनिन्,  ‘स्क्रिनिङका क्रममा कुनै समस्या फेला परे थप परीक्षण गर्ने, सङ्क्रमणको उपचार स्वरूप औषधि उपलब्ध गराउने र गाँठा गुठी देखिएका बिरामीहरूका लागि भिडियो एक्स(रे सेवा समेत प्रदान गरिएको छ।विगतमा पाठेघरको मुखको क्यान्सरमा मात्र केन्द्रित भएर शिविर चलाइने गरिएकोमा यस पटक एकीकृत प्रजनन रुग्णता सेवा अन्तर्गत २० वर्षभन्दा माथिका सबै महिलाहरूलाई समेटिएको उनले बताइन्।  

यस एकीकृत शिविरले जटिल समस्या भएका महिलाहरूलाई ठुलो आर्थिक र मानसिक राहत दिएको छ। आङ खस्ने समस्या भएका महिलाहरूलाई धरान अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ भने सम्भव नहुने जटिल केसहरूलाई कोशी अस्पताल विराटनगरमा निःशुल्क उपचार गर्ने गरी पठाउने गरिएको उनको भनाई छ।  उपचारपछि औषधिको साइड इफेक्टबारे विस्तृत जानकारी दिने र १५ दिनपछि पुनः फलोअप गर्ने जस्ता प्रभावकारी प्रक्रिया अपनाइएको छ। यदि कुनै महिलामा आङ्ग खस्ने समस्या क्यान्सर पाइएमा उनीहरूलाई इनरुवा अस्पताल , कोशी अस्पताल वा अन्य ठुला अस्पतालमा सिफारिस गरी निशुल्क शल्यक्रिया तथा थप उपचारको सम्पूर्ण व्यवस्था मिलाइएको छ, उनले भनिन्।

843854882_2036247693732337_8201739669766614585_n

स्वास्थ्यकर्मीहरूलाई दुई दिनसम्म आवश्यक तालिम दिएपछि मात्रै शिविर आयोजना गर्ने गरिएको छ।  स्वास्थ्यकर्मीलाई दक्ष बनाएपछि सुरु गरिएको यस अभियानको पहिलो दिन ५२ जना र दोस्रो दिन ९३ जना महिलाहरूले प्रत्यक्ष सेवा लिएका थिए। त्यस्तै तेस्रो दिन ७८ जना गरी गरी कुल २२३ जनाले सेवा लिएका छन्। पाठेघरको मुखको क्यान्सरको पूर्व अवस्थामा ५ जना, आङ खस्ने समस्या भएका ९८, पाठेघरको मुखको क्यान्सरको जाँच पत्ता लगाउने संवेदनशील उपचारको लागि १०६ जनाको नमुना सङ्कलन गरिएको तथा प्रजनन नलिको संक्रमण धेरैमा देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका पब्लिक हेल्थ नर्स मिलन घिमिरेले जानकारी दिइन्।उनका अनुसार, धरानका २० वटै स्वास्थ्य संस्थाबाट नियमित स्क्रिनिङ्ग तथा उपचार एवम् आवश्यक्तानुसार रेफर गर्नेगरी ओपिडीबाट सुरु हुने साथै यो एकीकृत रुपमा ५ वटै सेवालाई सुनसरीका १२ वटै पालिकामा पुर्‍याउने योजना रहेको छ।