विराटनगर । ओखलढुङ्गाको मानभञ्ज्यांग गाउँपालिका वडा नम्बर ७ मा प्रदेश सरकारले मेडिकल कलेज नबनाएको भन्दै स्थानीयले आमरण अनसन शुरु गरेका छन् । प्रदेश सरकारले घोषणा गरेको मेडिकल कलेजसहितको १५० बेडको प्रादेशिक अस्पताल निर्माणको माग गर्दै  आमरण अनसन शुरु गरेका हुन् । 

उनीहरूले अस्पताल बनाउनका लागि १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउँदा पनि प्रदेश सरकारले मेडिकल कलेज नबनाएको बताएका छन् । सरकारले आफैले गरेको घोषणा कार्यान्वयन नगरेकाले आजबाट  मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको गेटमा आमरण अनसन शुरु गरेका हुन् । 

यस अघि गएको निर्वाचनमा मेडिकल कलेज नबनाएको भन्दै स्थानीयले निर्वाचन बहिस्कार गरेका थिए । स्थानीयले निर्वाचन बहिस्कार गर्दा मानेभञ्ज्यांग स्थित वडा नम्बर ७ को एउटा बुथमा प्रत्यक्ष तर्फ एक मत पनि खसेको थिएन । 

सरकारलाई  पटक पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेकाले जग्गा व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार गौतमसहित १०–१५ जनाको टोली ओखलढुङ्गाबाट विराटनगर आएका छन् । जसमध्ये आजदेखि ४ जना भोकै आमरण अनसनमा बसेको र भोलिदेखि अरू साथीहरू पनि थपिँदै जाने गौतमले जानकारी दिए ।

तत्कालीन मुख्यमन्त्री शेरधन राई लगायतको पहलमा प्रदेश सरकारले निःशुल्क जग्गा उपलब्ध गराएमा मेडिकल कलेजसहित १५० बेडको प्रादेशिक अस्पताल बनाउने आश्वासन दिएको थियो । 

तत्कालीन प्रदेश सांसद मोहन खड्का लगायतको समन्वय र मन्त्री स्तरीय निर्णयपछि जिल्ला जनस्वास्थ्य कार्यालय ओखलढुङ्गामार्फत १६७ रोपनी जग्गा सामाजिक विकास मन्त्रालयको नाममा पास भएको थियो । अस्पतालको नाममा जग्गा हुँदा समेत प्रदेश सरकारले मेडिकल कलेज बनाउन उपेक्षा गरेको गौतमले बताए । 

अध्यक्ष गौतमका अनुसार जग्गा सम्याउन १५–२० लाख रुपैयाँ खर्च भएको बताए । उनले  संरचना निर्माणका लागि करिब ९४ करोड रुपैयाँभन्दा बढी लागतको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) समेत तयार भएको छ । 

निर्वाचन बहिस्कार गरेपछि पनि पुनः ज्ञापन पत्र बुझाउँदा माग सम्बोधन नभएपछि तिहार अगाडि नै मुख्यमन्त्री हिकमत कार्की  र स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलिलाई भेटेर आमरण अनसन बस्ने जानकारीसहितको ज्ञापन पत्र बुझाइएको गौतमले बताए । 

अस्पतालको लोकेसन र आवश्यकताका विषयमा स्वास्थ्य मन्त्री पराजिुलि जानकार रहे पनि मुख्यमन्त्रीले प्रदेशमा बजेट नभएको र व्यवस्थापन गर्न गाह्रो रहेको भन्दै टार्ने प्रयास गरेको गौतमको आरोप छ ।