सुनसरी । सुनसरीको रामधुनी नगरपालिका ८ झुम्कास्थित एक कृषि फार्मका सञ्चालकले केही व्यक्तिले हुलहुज्जत, धम्की र सामाजिक सञ्जालमार्फत बदनाम गर्ने प्रयास गरेर वर्षौंदेखि सञ्चालनमा रहेको व्यवसाय बन्द गराउन खोजेको आरोप लगाएका छन् ।
झुम्का अर्गानिक कृषि फार्म प्रालिका सञ्चालक भरत कार्कीले आइतबार पत्रकार सम्मेलन गर्दै आफू र फार्मका कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गरी व्यवसाय सञ्चालन गर्नै नसक्ने वातावरण बनाउन खोजिएको बताएका हुन् ।
सरोकार नै नभएका व्यक्तिहरू समूह बनाएर फार्ममा आउने, धम्क्याउने र सामाजिक सञ्जालमा एकतर्फी तथा भ्रामक सामग्री पोस्ट गरेर बदनाम गराउने काम भइरहेको उनको आरोप छ । कार्कीका अनुसार २०७४ सालदेखि सञ्चालनमा रहेको फार्म आठ बिघा क्षेत्रफलमा फैलिएको छ ।
कृषि उत्पादनसँगै पशुपन्छीपालन गर्ने उद्देश्यले स्थापना गरिएको फार्ममा एक समय ३५ हजार कुखुरा, सात सय बंगुर, एक सय ६५ बाख्रा र चारवटा गाई पालिएका थिए ।
हाल १८ हजार कुखुरा, ५० वटा बंगुर, १५ वटा बाख्रा र चारवटा गाई पालिँदै आएको उनले बताए । फार्ममा १५ जना कर्मचारी कार्यरत छन् ।
कार्कीले प्राकृतिक विपत्तिका कारण पनि फार्मले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताए । २०८२ सालमा आएको बाढी तथा अविरल वर्षाले कुखुरा, बंगुर, बाख्रा, दाना, औषधि, भवन र अन्य संरचनामा क्षति पुर्याउँदा करोडौं रुपैयाँ नोक्सानी भएको उनको भनाइ छ । दुईवटा विपद्का घटनाबाट मात्रै करिब चार करोड ३९ लाख रुपैयाँसहित ठूलो आर्थिक क्षति भएको उनले बताए । क्षतिको विवरण प्रहरी मुचुल्का तथा वडा कार्यालयको अभिलेखमा समेत रहेको तर राज्यबाट कुनै राहत नपाएको उनको गुनासो छ ।
प्राकृतिक विपत्तिबाट भएको क्षतिका बाबजुद व्यवसायलाई निरन्तरता दिँदै आएको अवस्थामा पछिल्लो समय केही व्यक्तिले अनावश्यक विवाद सिर्जना गरेको कार्कीको आरोप छ । उनका अनुसार गत मंसिर २ गते इनरुवा –८ बंकुलवाका केही युवा फार्ममा आएर सञ्चालकलाई जानकारी नै नदिई कर्मचारीसँग विवाद गरेका थिए ।
फार्मको सुरक्षा व्यवस्थालाई बेवास्ता गर्दै हुलहुज्जत गर्ने, फार्मभित्र पस्ने र फोहोर नदीमा मिसाएको भन्दै सामाजिक सञ्जालमा आरोप लगाउने काम भएको उनले बताए ।
त्यसपछि मंसिर ५ गते पनि केही व्यक्ति फार्ममा आएर धम्कीपूर्ण व्यवहार गरेको कार्कीले बताए । आफूले पटकपटक उनीहरूलाई व्यवस्थापनसँग छलफल र संवाद गर्न आग्रह गरे पनि त्यसो नगरी फेसबुकमार्फत बदनाम गराउने काम भएको उनको भनाइ छ ।
आफ्नो धारणा नबुझी दर्ता नभएका पेज तथा अनलाइनबाट अपुष्ट सामग्री सम्प्रेषण गरेर थप बदनाम गराएको आरोप लगाउदै कारबाहीको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित सुनसरी र मोरङका कुखुरा तथा पोल्ट्री व्यवसायीहरूले पनि व्यवसायीमाथि हुने यस्ता गतिविधि तत्काल रोक्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् । व्यवसाय सञ्चालनका क्रममा असम्बन्धित व्यक्तिहरूको समूहले आएर धम्क्याउने र हुलहुज्जत गर्ने अवस्था रहे व्यवसाय गर्न नसकिने उनीहरूको भनाइ थियो । व्यवसायीहरूले कृषि तथा पशुपन्छीपालन क्षेत्रमा लगानीको सुरक्षा र व्यवसायी तथा कर्मचारीले निर्भयपूर्वक काम गर्न पाउने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । कार्कीले फार्म बन्द गराउने उद्देश्यले आफू र कर्मचारीमाथि दबाब सिर्जना गरिएको दाबी गर्दै सुरक्षाको प्रत्याभूति दिन र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।











