इटहरी । लागुऔषध नियन्त्रण, सामाजिक सद्भाव कायम र दलित समुदायका हकअधिकार सुनिश्चित गर्न नागरिक समाज, प्रदेश सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
टेकपाना मिडिया प्रालिको आयोजना र इटहरी एफएमको संयोजनमा सोमबार इटहरीमा सम्पन्न प्रदेशस्तरीय ‘टेकपाना संवाद’ कार्यक्रममा सहभागी वक्ताहरूले सामाजिक समस्याको समाधानका लागि सरकारसँगै नागरिक समाजको सक्रिय भूमिका आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारले लागुऔषध नियन्त्रण, सामाजिक सद्भाव र दलित समुदायका अधिकारका सवालमा सरकारी निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताइन् ।
दलित समुदायको हकअधिकार सुनिश्चित गर्न स्थानीय तहबाट हुने प्रयाससँगै समुदायको सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण हुने उनले उल्लेख गरिन् ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले सामाजिक विकृति नियन्त्रण र समावेशी समाज निर्माणका लागि स्थानीय सरकारले मात्र काम गर्न नसक्ने भएकाले सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताइन् । सामाजिक समस्या समाधानका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कानुन व्यवसायी रमेश पोखरेल र पत्रकार अमर खड्काले पनि कानुनी अधिकारको कार्यान्वयन, सामाजिक चेतना र सञ्चार क्षेत्रको भूमिकाबारे धारणा राखेका थिए ।
पत्रकार मोदनाथ ढकालको सहजीकरणमा भएको कार्यक्रममा लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि सचेतना र रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संवाद र सहकार्य बढाउनुपर्ने तथा दलित समुदायले भोग्दै आएका विभेद र असमानता अन्त्य गर्न राज्यका निकाय जिम्मेवार हुनुपर्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
संवादमा सहभागीहरूले सामाजिक समस्या समाधानका लागि सरकार र नागरिकबीच निरन्तर संवाद तथा सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।











