इटहरी । राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी शाखाको  नवगठित समुहको आज(शनिबार) पदस्थापन गरिएको छ ।

सञ्चारपाटी डट कम का फोटो पत्रकार गुरु ढकालको अध्यक्षतामा नवगठित समुहको नयाँ समितिलाई आज पदस्थापन गर्दै विजयीको प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।

अघिल्लो कार्य समितिका अध्यक्ष रहेका ढकाललाई नै दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गर्दै अन्य पदमा भने नयाँ व्यक्तिहरु चयन गरिएको हो । 

नवगठित जिल्ला समितिको उपाध्यक्षमा सुवास संकल्प, सचिवमा पवन सिग्देल र कोषाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । यस्तै  कार्यसमिति सदस्यमा मिलन अधिकारी, सञ्जीव तिम्सिना र दोलराज तिम्सिना,रामबहादुर तामाङ, जेसिस भट्टराई र दीपक भुजेल रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत विकल रेग्मीले सपथ ग्रहण गराएका थिए । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका रजिष्टार लीलाराज भट्टराईले पदभार ग्रहण गर्ने सबैलाई विजयीको प्रमाण पत्र वितरण गरेका थिए । 

पदस्थापन कार्यक्रममा बोल्दै पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले तथा प्रेस चौतारी नेपाल प्रदेश अध्यक्ष सुमन पुरीले पत्रकारितामा फोटो पत्रकारहरुको फोटो कपिपेस्ट प्रमुख चुनौति बन्दै गएको बताए ।

सञ्चार माध्यम तथा व्यक्तिहरुले आफुखुसी प्रयोग गर्ने तर कुनै शुल्क नतिर्ने तथा क्रेडिट नदिने गरेको उनीहरुले भनाई थियो । यो समस्या समाधान गर्न सबैले आ आफ्नो ठाउँबाट काम गर्न आग्रह गरे । फोटोको प्रयोगको विषयमा उपयुक्त गाइडलाईनको कार्यान्वयन र त्यसको नियमन गर्न सम्बन्धित निकायहरुले काम गर्नुपर्ने अन्य वक्ताहरुले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस रजिष्टार लिलाराज भट्टराईले राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीले अघि सारेका कार्यक्रम तथा योजनामा प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष गुरु ढकालले फोटो पत्रकारहरूको व्यावसायिक तथा क्षमता विकास गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।  उनले आगामी तीन बर्षे योजना प्रस्तुत गरे । फोटो सम्बन्धित तालिम सञ्चालन गर्ने प्रतिवद्दता पनि जनाए । 

अध्यक्ष ढकालले सुनसरीका महत्वपूर्ण घटना, संस्कृति, पर्यटन, विकास र सामाजिक गतिविधिको आधिकारिक फोटो अभिलेख तयार गर्ने योजना रहेको बताए ।