सुनसरी । पत्रकार भोजराज श्रेष्ठद्वारा लिखित ‘सुनसरीको मिडिया परिदृश्य’ पुस्तक लोकार्पण गरिएको छ। आइतबार सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो।

प्रा.डा. टंकप्रसाद न्यौपाने, वरिष्ठ पत्रकार हर्ष सुब्बा र धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तिलक राईले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन । पुस्तककलाई धरान रिडर्स ग्रुपले प्रकाशित गरेको हो ।

पुस्तकले सुनसरीको पत्रकारिताको इतिहासलाई समेटिएको छ । नेपालमा पत्रकारिताको विकासको इतिहासमा पूर्वमा र त्यसमा पनि सुनसरीमा पत्रकारिताका विकासक्रम कसरी भयो भन्ने कुरा पुस्तकमा समेटिएको बताइएको छ । 

पुस्तकका लेखक पत्रकार भोजराज श्रेष्ठले सुनसरीको पत्रपत्रिका तथा पत्रकारिता क्षेत्रका विषयमा ७ वर्ष लगाएर गरिएको शोध तथा अनुसन्धानपछि पुस्तक प्रकाशन गरिएको बताए । 

जिल्लामा सञ्चारमाध्यमको विकाससँगै पत्रकारिता क्षेत्रमा आएका परिवर्तन, पत्रकारिताको अभ्यास र सञ्चार क्षेत्रसँग सम्बन्धित विषयलाई पुस्तकमा समेट्ने प्रयास गरिएको उनले सुनाए ।

पुस्तक लोकार्पण गरेपछि प्रा.डा. न्यौपानेले ‘सुनसरीको मिडिया परिदृश्य’ पुस्तक सुनसरीको सञ्चार क्षेत्रबारे अध्ययन गर्न चाहनेका लागि पठनीय र सङ्ग्रहनीय कृति भएको बताए।

उनले पुस्तकमा सुनसरीको सञ्चार तथा पत्रकारिताको विकासक्रमलाई समेट्ने प्रयास गरिएको भन्दै आगामी संस्करणमा थप विषयवस्तु समावेश गर्न र पुस्तकमा रहेका त्रुटिहरू सच्याउँदै लैजान सुझाव दिए।

यस्तै वरिष्ठ पत्रकार हर्ष सुब्बाले सुनसरीको पत्रकारिताको विकासक्रमलाई धरानको पत्रकारितासँग जोडेर चर्चा गरे। उनले धरानदेखि सुनसरी हुँदै नेपालको पत्रकारिता र विश्व पत्रकारिताको विकासक्रमबारे चर्चा गरे । 

पुस्तकका लेखक श्रेष्ठ ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक हुन्। उनी धरानमा रहेर विगत १८ वर्षदेखि पत्रकारिता तथा शिक्षण पेसामा आबद्ध छन्।

पत्रकारितासँगै शिक्षण र अध्ययन–अनुसन्धानमा समेत सक्रिय श्रेष्ठले आफ्नो व्यावसायिक अनुभव र लामो समयको अध्ययनलाई पुस्तकमार्फत दस्तावेजीकरण गरेका हुन्।

स्थानीय पत्रकारिताको इतिहास, सञ्चारमाध्यमको विकास र पत्रकारितामा आएका परिवर्तनलाई समेटेर प्रकाशित यस्ता कृतिले जिल्लाको सञ्चार इतिहासलाई अभिलेखका रूपमा सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रममा सहभागी वक्ताहरूको भनाइ थियो।

कार्यक्रममा सञ्चार तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू, लेखक, प्राध्यापक, पत्रकार तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो।