फोटो : गुरु ढकाल
सुनसरी । पूर्वको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रधाममा भक्तजनको ठुलो घुँइचो लागेको छ । बराह भगवानको दर्शन तथा पूर्णिमा स्नानका लागि ठुलो संख्यामा भक्तजनहरु यहाँ आएका हुन ।
हरिबोधनी एकादशीबाट सुरु भएको कात्तिक स्नान र आजको पूर्णिमा स्नान गर्दै बराह भगवानको दर्शन गर्न ठुलो संख्यामा भक्तजनहरु आज आइपुगेको देखिन्छ । एकादशीको दिन देखी आजको पूर्णिमा सम्मको दिनमा स्नान गरि बराह भगवानको दर्शन गरे पुन्य प्राप्ती हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
यहाँ अहिले कात्तिके मेला पनि लागिरहेकोछ । प्रत्येक वर्ष हरिबोधनी एकादशीको अवसरमा आयोजना हुने मेलामा नेपालका विभिन्न जिल्लासहित भारत र भुटानबाट समेत हजारौँ श्रद्धालु भक्तजन यहाँ आउने गर्दछन् । आज मेलाको अन्तिम र पूर्णिमा पनि परेको हुनाले भक्तजनहरुको भिड लागेको हो ।

स्नान तथा दर्शन गर्न भिड हुने भएकाले भक्तजनहरु अघिल्लो दिन देखी नै सो क्षेत्रमा बास बसेका थिए । आज पनि राती देखी नै स्थान गर्ने र दर्शन गर्नेहरु लाइनमा लागेका थिए । स्नना गरेपछि मन्दिर सम्म पुग्ने सिढिँमा भक्तजनहरु लामबद्द भएर बसेका थिए । अत्यधिक भिड भएका कारण पूजाआज तथा दर्शन गर्नका लागि केहि कठिनाई पनि भएको थियो ।
कोशी नदी र कोकाह खोलाको संगम क्षेत्रमा अवस्थित बराहक्षेत्रधाम हिन्दु धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल मानिन्छ । भगवान् विष्णुको वराह अवतारसँग जोडिएको यस धार्मिक स्थलमा हरिबोधनी एकादशीका दिन स्नान तथा पूजाआराधना गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको संयोजकत्वमा गठन गरिएको मूल समितिले मेलालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने काम गरिरहेको छ ।
मेलामा आउने दर्शनार्थीको सहज आवागमन, पूजा–आराधनाका लागि विशेष व्यवस्थापन गरिएको बृहत्तर बराहक्षेत्र विकास समितिका कार्यकारी निर्देशक अबिजाल बिष्टले जानकारी दिएका छन् । आज पूर्णिमाको दिन भएकाले पनि भक्तजनको ठुलो भिड लागेको उनले जानकारी दिए ।













