सुनसरी ।  सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका २१ वर्षीय रवीन्द्रकुमार मेहेताको शव चार दिनदेखि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमै राखिएको छ ।

मृतक परिवार र सरकारबीच राहत, शहीद घोषणा तथा सहमति कार्यान्वयनको विषयमा सहमति जुट्न नसक्दा शव अझै अस्पतालबाट उठाउन सकिएको छैन । 

देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रको मंगलबार काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

 प्रारम्भिक उपचारपछि उनलाई विराटनगरको विराट नर्सिङ होमबाट गत शुक्रबार एयर एम्बुलेन्स मार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो । रवीन्द्रको बायाँ तिघ्रामा गोली लाग्दा नसामा गम्भीर क्षति पुगेको थियो ।

 विराटनगरमै उनको नसाको शल्यक्रिया गरिएको भए पनि स्वास्थ्य अवस्था थप जटिल बनेपछि शिक्षण अस्पताल रेफर गरिएको थियो । उपचारका क्रममा संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाह अनुसार उनको गोली लागेको बायाँ खुट्टा काट्नुपरेको थियो ।

त्यसपछि पनि स्वास्थ्यमा सुधार नआएपछि मंगलबार उनको मृत्यु भएको थियो । मृत्युपछि शव बुझ्ने विषयमा सरकार र परिवारबीच सहमति नजुट्दा शव चार दिनदेखि अस्पतालमै रहेको छ । मंगलबार अस्पताल पुगेका गृहमन्त्री सुदन गुरुङ र मृतकका आफन्तबीच पहिलो चरणको वार्ता भएको थियो । 

उक्त वार्ता निष्कर्षमा नपुगेपछि बुधबार पुनः छलफल गर्ने सहमति भएको थियो । बिहीबार देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहेता, मृतकका परिवार र गृहमन्त्री गुरुङबीच फेरि वार्ता भएपनि कुनै सहमति हुन सकेन ।

गाउँपालिकाका अध्यक्ष मेहेताका अनुसार गृहमन्त्रीले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै क्षतिपूर्ति, राहत र अन्य निर्णय प्रक्रिया अघि बढ्ने अडान राखेका कारण सहमति हुन नसकेको हो ।

उनले यसअघि देवानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको परिवारसँग सरकारले गरेको सहमति रवीन्द्रको परिवारसँग पनि समान रूपमा लागू हुनुपर्ने माग राखिएको बताए ।

तर त्यसमा गृहमन्त्री सकारात्मक नदेखिएको उनको भनाइ छ । गृहमन्त्री गुरुङले भने छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै शहीद घोषणा, क्षतिपूर्ति तथा अन्य मागका विषयमा निर्णय प्रक्रिया अघि बढ्ने अडान दोहो¥याएका छन् ।

 बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रवीन्द्रलाई शहीद घोषणा नगरेकाले परिवार थप चिन्तित बनेको अध्यक्ष मेहेताले बताए । गृहमन्त्री, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष, मृतक परिवार र घटनापीडित पक्षबीच भएको पछिल्लो छलफलमा दुवै पक्ष आफ्नो–आफ्नो अडानबाट पछि नहटेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो ।

 सहमति नजुटेकै कारण शव अझै अस्पतालमै राखिएको छ । उता सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भने रवीन्द्रको अन्तिम संस्कारका लागि आफन्त र स्थानीय चार दिनदेखि शवको प्रतीक्षामा बसेका छन् । 

शव गाउँ नपुग्दा परिवार शोकमा डुबेको छ भने स्थानीय बासिन्दा पनि सरकार र परिवारबीच छिटो सहमति भई अन्तिम संस्कारको वातावरण बन्ने अपेक्षामा छन् ।।