सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा युवाहरूको समूह बिचको विवाद गोली काण्डमा परिणत भएको आज(बुधवार) ११ दिन भयो । तर सो क्षेत्रमा डर त्रास भने कायमै छ ।
स्थानीयहरू अब के हुने हो भन्ने अन्योलमै छन् । घटना भएको १० औँ दिनमा उपचाररत घाइते २१ वर्षीय रवीन्द्रकुमार मेहताको मृत्युले स्थानीय शोकमा डुबेका छन् । यो घटनामा मृत्युहुनेको संख्या तीन पुगिसकेको छ । अझै सात जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
१० औँ दिन सम्म आइपुग्दा केही शान्त बनेको माहौल फेरी अशान्त बन्ने हो की भन्ने आशङ्काले स्थानीयहरू त्रसित छन् ।

उता, काठमाण्डौँ स्थित टिचिगं अस्पतालबाट मृतक मेहताको शव उठ्न सकेको छैन । परिवारले शव बुझ्न मानिरहेका छैनन् ।
यता, गाउँमा परिवारजन तथा गाउँलेले बाटोमा रुख ढालेर विरोध गरिरहेका छन् । बिच बाटोमा पाल तथा टेन्ट टाँगेर स्थानीय बसेका छन् ।

बुधवार घटनास्थल पुग्दा परिवारजन तथा स्थानीय गाउँलेले ठाउँ ठाउँमा रुख ढालेर अवरोध गरेको पाइयो ।
देवानगञ्ज चौकबाट दक्षिण तर्फ सवारी जान रोक लगाइएको छ । त्यहाँ सुकेका मुडा राखेर लगाइएको आगो निभेको छैन ।
त्यसको अझ दक्षिण तर्फ कप्तानगञ्ज जाने बाटो अलि तल एक विद्यालय नजिक बाटोमा रुखका स्याउला तथा पुत्ला झुण्ड्याएरअवरोध सृजना गरिएको छ ।

१० गते राती घटना भएको स्थलमा बजार खुल्न सकेको छैन । प्रहरीको बाक्लो उपस्थित तैनाथ गरिएको छ ।
घटनास्थलमा बेग्लै सन्नाटा छाएको पाइयो । काठमाण्डाँैको खब पर्खेर बसेका स्थानीयहरू के गर्ने भन्ने अन्यौलता भेटियो ।
स्थानीय गाउँलेहरू प्रशासनले गोली चलाउनेलाई पक्राउ नगरेको भन्दै तीव्र आक्रोश व्यक्त गरिरहेका थिए । काठमाण्डौँमा कहिले वार्ता मिल्छ र शव गाउँ आउँछ भन्ने पर्खाइमा स्थानीय बसेका छन् ।


















