सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायका युवाहरुको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई जना युवाको शव आज(शुक्रबार) साँझ पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ ।
सरकार र पीडित पक्षबीच भएको सहमतिपछि कानुनी प्रक्रिया पूरा गरी शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको हो ।
देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव यसअघि विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो । बिहीबार राति सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा दुवै शवको पोस्टमार्टम गरिएको हो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पोस्टमार्टमपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर दुवै शव परिवारको जिम्मा लगाइएको हो ।
स्थानीय जुगेश दासका अनुसार परिवार र आफन्तले शवयात्रासहित दुवै शव विराटनगरबाट देवानगञ्जतर्फ लगिँदै छ । सहमतिअनुसार शुक्रबार नै दुवै युवाको अन्त्येष्टिको तयारी गरिएको छ ।
यसअघि गत बिहीबार राति सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति भएपछि शव बुझ्ने सहमति जुटेको थियो । सहमतिअनुसार मृतकका परिवारलाई राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष छानबिन गर्ने तथा घाइतेहरूको उपचारको व्यवस्था गर्ने लगायतका विषय समेटिएका छन् ।
















