विराटनगर । सवारी दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले अन्त्येष्टि गरिसकेका व्यक्ति जीवितै घर फर्किएपछि मोरङको लेटाङमा अनौठो घटना सार्वजनिक भएको छ ।

मृत्यु भएको भन्दै दाहसंस्कार गरिएका लेटाङ नगरपालिका–५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राई जीवितै घर आइपुगेपछि परिवारसँगै प्रहरीसमेत अन्योलमा परेको छ ।

घटनाले दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान कसरी गलत भयो र वास्तविक मृतक को हुन् भन्ने प्रश्न खडा गरेको छ ।

प्रहरीले अब शवको सनाखतदेखि बीमाबापत प्राप्त रकमसम्मका विषयमा पुनः अनुसन्धान गर्नुपर्ने भएको छ ।

गत जेठ २६ गते बिहान साढे ८ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि विराट टिचिङ अस्पताल, बुढीगंगा लगिएको थियो । उपचारकै क्रममा जेठ २७ गते उनको मृत्यु भएको थियो ।

मृतकको पहिचान खुल्न नसकेपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो । प्रहरीले मृतकका आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेपछि पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेकी थिइन् । त्यसपछि प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाएको थियो । परिवारले पनि उनलाई आफ्नै छोरा ठानेर अन्त्येष्टि गरेको थियो ।

तर, मृत्यु भएको भनिएका पदमबहादुर नै जीवितै घर फर्किएपछि घटनाले नयाँ मोड लिएको हो । मोरङका प्रहरी प्रमुख एसपी काविद कट्टुवालका अनुसार पदमबहादुर जीवितै भेटिएपछि शवको पहिचानसम्बन्धी कागजात र दुर्घटनामा वास्तवमै मृत्यु भएका व्यक्तिको पहिचानबारे पुनः अनुसन्धान गर्नुपर्ने भएको छ ।

‘मृतकको पहिचान खुल्न नसकेपछि सार्वजनिक सूचना जारी गरेका थियौं । त्यसपछि आमाले आफ्नै छोरा भएको भन्दै सनाखत गर्नुभएको थियो,’ प्रहरी स्रोतले जनाएको छ ।

घटनाबारे बुझ्न पदमबहादुरको घर पुगेका इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार परिवारले पदमबहादुरलाई लामो समयदेखि देखेको थिएन । उनी २०८२ माघदेखि घरबाहिर रहेका थिए । घर छाडेर हिँड्दा आफन्तलाई जानकारी नगराएकाले उनी कहाँ छन् भन्ने परिवारलाई थाहा थिएन ।

प्रहरी निरीक्षक साहका अनुसार पदमबहादुरको विवाहपछि श्रीमतीले छाडेर गएको र त्यसपछि उनको मानसिक अवस्था कमजोर हुँदै गएको परिवारबाट खुलेको छ । उनी घर छाडेर हिँड्ने गरेको पनि बताइएको छ । लामो समयदेखि सम्पर्कमा नरहेका पदमबहादुरको जस्तै देखिने शव भेटिएपछि आमाले आफ्नै छोरा ठानेर सनाखत गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

पदमबहादुर जीवितै फर्किएपछि बिहीबार परिवारलाई कोशी अस्पताल बोलाएर घटनाबारे थप बुझ्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले शव सनाखत गर्दाका कागजात पुनः परीक्षण गर्ने, शवको तस्बिर तथा भिडियोका आधारमा वास्तविक मृतकको पहिचान गर्ने र दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त पत्ता लगाउने प्रयास गर्ने भएको छ ।

यस घटनामा दुर्घटना बीमाबापतको रकमसमेत परिवारले प्राप्त गरिसकेको बताइएको छ । मृत्यु भएको भनिएका व्यक्ति जीवितै भेटिएपछि प्राप्त रकमको विषयमा सम्बन्धित बीमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने प्रहरीको भनाइ छ ।

मृतकको पहिचान गर्ने क्रममा अपनाइएको प्रक्रिया, आमाले गरेको सनाखत र त्यसलाई पुष्टि गर्ने आधारबारे समेत प्रहरीले अनुसन्धान गर्ने भएको छ । दुर्घटनामा वास्तवमै ज्यान गुमाएका व्यक्तिको पहिचान खुलाउनु र गलत सनाखत कसरी भयो भन्ने तथ्य पत्ता लगाउनु अहिले प्रहरीका लागि मुख्य चुनौती बनेको छ ।

एकातिर लामो समयदेखि सम्पर्कविहीन छोरा जीवितै घर फर्किएपछि परिवारमा खुसी छाएको छ भने अर्कोतिर आफूले अन्त्येष्टि गरेको व्यक्ति को थिए भन्ने प्रश्नले परिवार र प्रहरीलाई अन्योलमा पारेको छ ।