सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्नव आँधीको असर स्वरुप भारी वर्षाको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन जिल्लाबासीलाई सचेत गराएको छ ।

नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार आगामी आइतबारसम्म चक्रवातजन्य आँधीसँगै भारी वर्षा हुन सक्ने सम्भावना भएकाले सर्तकता अपनाउन भनेको छ ।

प्रशासनले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन र डुबान हुन सक्ने क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमको सङ्केत देखिएमा खोला किनारमा माछा मार्ने, काठदाउरा सङ्कलन गर्ने जस्ता कार्य नगर्न पनि सूचनामा उल्लेख छ।

बाढी तथा पहिरोको जोखिम देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न प्रशासनले आग्रह गरेको छ। अति आवश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्था बुझ्नसमेत अनुरोध गरिएको छ।

मौसम पूर्ण रूपमा नखुलेसम्म धान नकाट्न तथा काटिसकेको धानलाई समयमै सुरक्षित स्थानमा राख्न किसानलाई प्रशासनले आग्रह गरेको छ । 

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा भनिएको छ ।