सुनसरी । चोरीको आरोप लगाएर बदनाम गरेको भन्दै विराटनगरका ६९ वर्षीय व्यापारी लालजीप्रसाद गुप्ताको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्यापछि शव लुकाउन दुई नाबालकले सहयोग गरेको आरोपमा प्रहरीले मुख्य अभियुक्तसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गरी विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा १३ र १६ वर्षका दुई नाबालकलाई पक्राउ गरिएको जानकारी दिएको हो।

पक्राउ परेका नाबालकमध्ये एक भारतीय र अर्का नेपाली नागरिक हुन्। प्रहरीका अनुसार विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार चोरी गरेको भन्दै गुप्ताले आलममाथि आरोप लगाएका थिए। त्यसबाट बजारमा आफ्नो बदनामी भएको भन्दै आक्रोशित आलमले कात्तिक ६ गते गुप्तालाई घरमा बोलाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। घरमा बोलाएपछि दुई जनाबीच विवाद भएको र त्यसक्रममा आलमले फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। प्रहारबाट गुप्ताको मृत्यु भएपछि शव कार्पेटमा बेरेर सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसलिया खोलाको किनारमा लगेर फालिएको प्रहरीको भनाइ छ।

कात्तिक ८ गते बिहान स्थानीयले खोलाको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको अनुसन्धानका क्रममा मोरङ र सुनसरी प्रहरीको संयुक्त टोलीले तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको थियो। प्रहरीले अनुसन्धानका क्रममा मंगलबार साँझ आलमलाई पक्राउ गरेको जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा दुई नाबालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा प्रयोग भएको भनिएको जीआई पाइप, मृतकले प्रयोग गर्ने रेडमी मोबाइल र शव बेर्न प्रयोग गरिएको कार्पेट बरामद गरिएको छ। सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले बरामद सामग्रीसहित अन्य प्राविधिक तथा भौतिक प्रमाणका आधारमा अनुसन्धान भइरहेको जानकारी दिए।

भारतको वाराणसी स्थायी घर भएका गुप्ता करिब चार दशकदेखि विराटनगरमा बस्दै आएका थिए। उनले विराटनगरको धरान रोडमा ‘लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए।

पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।