विराटनगर । सप्तकोशी नदीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति  गठन भएको छ । गत आइतबार धनकुटाको त्रिवेणीमा भोजपुरबाट सुनसरी तर्फ आउँदै गरेको पानीबोट दुर्घटना भएको थियो । जसमा ३ जनाको मृत्यु भएको थियो भने ३ जना अझै बेपत्ता छन् । 

मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् । उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

​दुर्घटनामा परी असामयिक निधन भएका नागरिकहरूप्रति प्रदेश सरकारले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।  दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना र बेपत्ता नागरिकहरूको तत्काल खोजी एवम् उद्धारका लागि सम्बन्धित निकायलाई विशेष आग्रह गरिएको प्रवक्ता शेर्पाले जानकारी दिए। 

​मन्त्रिपरिषद् बैठकले प्रदेशको पर्यटन प्रवर्द्धन र सेवालाई थप व्यवस्थित बनाउने उद्देश्यले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ु स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । साथै, मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पनि कोशी प्रदेश सभा समक्ष पेस गर्ने निर्णय गरिएको छ ।

bepatta khoji


बेपत्ताको खोजी जारी 

सुनसरी प्रहरीले पानीबोट दुर्घटनामा हराइरहेकाहरूको खोजी जारी रहेको जनाएको छ। 

गोताखोर सहितको टोली परिचालन गरेर दुई दिनदेखि बेपत्ता तीनजनाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जानकारी दिए।

विगत दुई दिनदेखि हराइरहेकाहरूको खोजी भइरहेको उनले जानकारी दिए। दुर्घटनामा परेको मोटरेबल बोटसमेत अहिलेसम्म फेला पर्न सकेको छैन भने बेपत्ता नागरिकको समेत पत्तो लाग्न सकेको छैन।