विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २७ र २८ गते विराटनगरमा हुन गइरहेको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै तयारी बारेमा जानकारी दिएको हो।
संघीय शासन प्रणालीलाई थप सबल र परिणाममुखी बनाउँदै प्रदेशहरूबीचको आपसी सहकार्य, समन्वय र साझेदारीलाई सुदृढ गराउन सम्मेलन केन्द्रित रहने जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा मुख्यमन्त्री सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरू, मुख्य न्यायाधिवक्ताहरू तथा प्रमुख सचिवहरूको सहभागिता रहने एजेन्डा तयारी समितिका संयोजक एवम् प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिए।
दुई दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा प्रदेशहरूले हासिल गरेका असल अभ्यास, सफलता र सिकाइका साथै भोग्नुपरेका साझा चुनौतीहरूमाथि गहन छलफल गरिने जानकारी दिइएको थियो। विशेष गरी संविधानप्रदत्त प्रदेशका अधिकारहरूको प्रभावकारी प्रयोग, संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार तथा जिम्मेवारीको स्पष्टता, आवश्यक कानुन तथा नीतिगत सुधार, वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन र प्रदेशको आन्तरिक स्रोत परिचालन जस्ता विषय सम्मेलनका मुख्य एजेन्डा रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिए।
मुख्यमन्त्री कार्कीले भने, 'अन्तरप्रदेशीय साझा हितका विकास आयोजना, पूर्वाधार विकास, व्यापार तथा लगानी सहजीकरण, प्राकृतिक स्रोतको न्यायोचित उपयोग र लाभ बाँडफाँड, विपद् व्यवस्थापनमा सहकार्य एवं सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा नवीन अभ्यासहरूको आदानप्रदानमा समेत छलफल केन्द्रित हुनेछ।'
सम्मेलनको पहिलो दिन विषयगत सत्रहरूसँगै स्थानीय उत्पादन र निर्यात प्रवर्द्धनका लागि स्थानीय उद्योगी–व्यवसायीहरूसँग मुख्यमन्त्रीहरूको परिचयात्मक एवं अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिनेछ। मुख्यमन्त्री कार्कीले सम्मेलनलाई निरन्तरता दिनका लागि बर्षमा २ पटक मुख्यमन्त्रीहरूको बैठक बस्ने र वर्षमा एक पटक मुख्यमन्त्री सम्मेलन गरेर यसलाई निरन्तरता दिने बिषयमा पनि तयारी भइरहेको उनले जानकारी दिए। दुई दिने छलफलपछि प्राप्त निष्कर्ष र साझा प्रतिबद्धताहरूलाई समावेश गरी ‘कोशी घोषणापत्र–२०८३’ जारी गरिनेछ, जसले अन्तरप्रदेश समन्वय र साझेदारीलाई संस्थागत रूप दिन ठोस पहल गर्ने अपेक्षा गरिएको छ।

















