सुनसरी । सुनसरीको देवानगञ्ज गोलीकाण्ड र उत्पन्न पछिल्ला घटनालाई लिएर दुई वटा पालिकामा सर्वपक्षीय बैठक बसेको छ ।
बैठकमा राजनीतिक दलका स्थानीय नेता, सामाजिक सङ्घ संस्थाका अगुवाहरू सहभागी थिए । संवादको माध्यमबाट समस्या समाधान गर्ने साथै शान्ति र सद्भाव कायम गर्न उनीहरूले प्रतिबद्धता जनाएका छन् ।
कुटपिट, तोडफोड, आगजनी, लुटपाट तथा एकअर्काको धनमालमा पुगेको क्षति रोक्न सबैले पहलगर्नु पर्ने विषय बैठकमा उठेको छ । हरिनगर गाउँपालिकाको सर्वपक्षीय बैठकले ७ वटै वडामा शान्ति सुरक्षामा असर पर्नर् गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन्।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बैठकमा सबै जातजाति र समुदायलाई संयमित भई सामाजिक सद्भाव, कायम गरी शान्ति निर्माणका लागि अपिल गरे ।
अध्यक्ष अन्सारीले हरिनगरमा कुनै पनि हालतमा शान्ति सुरक्षा खलबलिन नदिने दाबी गर्दै नेपाल प्रहरी र स्थानीय प्रशासनलाई कडा सुरक्षा व्यवस्था मिलाउन भनिसकिएको बताए ।
देवानगञ्जमा भएको बैठकमा पनि स्थानीय वस्तुस्थिति सुन्ने सुनाउने काम भएको अध्यक्ष वेचनप्रसाद मेहताले बताए । बैठक फेरि बस्ने उनको भनाइ छ ।
















