सुनसरी । झापाको बाहुनडाँगीका हात्तीपीडितले नेपाल प्रवेश गरेका जंगली हात्तीलाई रबरको गोली प्रहार गरी  भारत तर्फ नै फर्काउन माग गरेका छन् ।

बाहुनडाँगीका हात्तीपीडितहरुले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएका छन् । झापाबाट विराटनगर आएका उनीहरुले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्रको बोदार्थ हस्तान्तरण गर्दै प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका छन् ।

ज्ञापन पत्र बुुझाउँदै हात्तीपीडितहरुले भारतमा रबरको गोली हानी हात्तीलाई धपाउने गरेको बताउँदै पिडितहरुले नेपालमा पनि रबरको गोली हानेर भारत तर्फ नै फर्काउने व्यवस्था गर्न माग गरे ।


पछिल्लो समय भारततर्फबाट आउने जंगली हात्तीले आक्रमण गर्दा मानिसको ज्यान समेत जान थालेको भन्दै पीडितले हात्तीलाई रबर बुलेट हानेर भगाउने प्रबन्ध गर्न माग गरेका हुन् । 


पीडित नागरिकले भारतबाट मानवबस्तीमा प्रवेश गर्ने जंगली हातीको आवतजावत तत्काल रोक्न, हात्तीलाई प्रचलित उपाय र आवश्यक परे रबरको गोलीको प्रयोगमार्फत जंगलतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग बुझाइएको ज्ञापन पत्रमा गरिएको छ । 


पूर्व–पश्चिम राजमार्गको मेची किनारदेखि कोसी टप्पुसम्म प्रस्ताव गरिएको वन्यजन्तु करिडोरको अवधारणा अव्यावहारिक र मानवबस्तीका लागि जोखिमपूर्ण रहेको भन्दै उक्त योजना तत्काल रोक्न पनि आग्रह गरिएको छ ।


केही दिन अघि भारतीय जंगली क्षेत्रबाट ठुलो संख्यामा जंगली हात्तीहरु नेपाल तर्फ प्रवेश गरेका छन् । नेपाल प्रवेश गरेका जंगली हात्ती मेची नगर हुन्दै सुनसरीको सप्तकोशी नदिसम्म पुग्ने गरेका छन् ।

यो यात्राका क्रममा जंगली हात्तीले बालीनाली नष्ट खाने, नष्ट गर्ने, घर भत्काउने र मानिसको ज्यान समेत लिने गरेका छन् ।