इटहरी । इटहरीमा बालबालिका तथा युवाको क्षेत्रमा भएका कामहरु अदुरदर्शी र अपारदर्शी भएको युवा बालबालिकाहरुले गुनासो गरेका छन् ।
इटहरी सरकारले बालबालिका तथा युवाहरुको वृत्ति विकासका ध्यान नदिएको, योजनाबद्द काम गर्न नसकेको उनीहरुले बताएका छन् ।
लक्ष्यदीप संस्था र सोसल क्याफेको आयोजनामा ‘भोलिको इटहरीमा युवा र बालबालिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी युवा तथा बालबालिकाहरुले इटहरी उपमहानगरपालिकाको काम प्रति असन्तुुष्टि व्यक्त गरेका हुन ।
कार्यक्रमको सुरुमा पत्रकार हिमाल दाहालले भोलिको इटहरी अभियानको उद्देश्यका बारेमा जानकारी दिएका थिए ।
त्यसपछि उनीहरुले इटहरीमा बालबालिका तथा युवाहरुले भोग्नुपरेको समस्या र ती समस्या समाधान गर्न इटहरी उपमहानगरपालिकाले गर्नुपर्ने काम बारे सुझाव दिएका थिए ।
नगर सञ्जाल इटहरीका अध्यक्ष प्रयास घिमिरे, लक्ष्यदीपका सचिव अमृत रिजाल र प्रशान्त निरौलाले इटहरीमा सडक बालबालिका र लागूऔषधको समस्या गम्भीर रहेको बताए ।
उनीहरुले नगर युवा परिषद् गठन गरी योजना र बजेट निर्माणमा सम्बन्धित समूहकै सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरे ।
यस्तै, नगर बाल सञ्जालकी विभूति काफ्लेले इटहरीमा बालबालिका ’उपेक्षीत’ बन्नुपरेको बताइन् । इटहरी उपमहानगरपालिकाले चासो नदिँदा बालमैत्री नगरको नारा कागजी प्रक्रियामा मात्र सीमित भएको गुनासो गरिन् ।
भ्वाइस अफ चिल्ड्रेनकी सृजना बसेल र सुषान्त भट्टराईले बालविवाह, बाल यौन दुव्र्यवहार, अनलाइनको बढ्दो प्रयोग, मानसिक हिंसा र विद्यालयमा दिवा खाजा प्रभावकारी नभएको विषय उठाए ।

अनुज अधिकारीले सरकारी आधारभूत विद्यालयहरूको अवस्था सन्तोषजनक नरहेको बताए भने आशिष सापकोटाले उद्यमशील युवाले जनप्रतिनिधिबाट प्रोत्साहन नपाएको र इटहरी स्टार्टअपमैत्री हुन नसकेको टिप्पणी गरे ।
कैलाश दाहालले वैदेशिक रोजगारीले युवा घट्दै गएको अवस्थामा युवाका सिर्जनात्मक सोचलाई लगानीसँग जोड्न ‘आइडिया पिचिङ बैंक’ को अवधारणा अघि सारे ।
युवा सुरज सदाले इटहरी–१५ जस्ता पछाडि परेका वडाहरूमा शिशु मृत्युदर, विद्यालय छाड्ने दर र बालश्रमको समस्या गम्भीर रहेको औंल्याए ।
असिम सापकोटाले नगर बसको रुट स्पष्ट नभएको, फोहोरमैला अन्ततः खोलानालामै पुग्ने गरेको र सञ्चारमाध्यमले समस्याको जरोसम्म पुगेर खोजमूलक समाचार लेख्नुपर्ने बताए ।
त्यस्तै, संयोज कोइरालाले स्थानीय सरकारमा पारदर्शिताको अभाव रहेको र नगर बसको लगानी सार्वजनिक नगरिएको आरोप लगाए।
दुर्गाराज अधिकारीले इटहरीका करिब ३ हजार ५ सय अपाङ्गता भएका व्यक्ति र दृष्टिविहीन बालबालिकाका लागि अपाङ्गतामैत्री पूर्वाधार तथा विशेष विद्यालयको अभाव रहेको बताए ।
प्रतिष्ठा पोखरेल र श्रेया भट्टराईले सडकमा छाडिएका र मरेका कुकुरहरूको व्यवस्थापन कमजोर रहेको, इन्टरनेट एडिक्सन बढेको र सूचना प्रणालीको अभाव रहेको उल्लेख गरे।
रिषा बजगाईँले जलवायु परिवर्तनका कारण बाढीको जोखिम बढेको र जग्गा प्लटिङले खेतीयोग्य जमिन बाँझो भएको चिन्ता व्यक्त गरिन् ।
बालबालिका तथा युवाहरुले भोग्नु परेका समस्या समाधानका लागि स्पष्ट योजना र त्यसको कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।

















