विराटनगर । विभिन्न बहाना भारतीय पक्षले नेपाली चिया निर्यातमा अवरोध गरेपछि चिया उत्पादन गर्ने मुख्य समयमा चिया उद्योगीहरूले उद्योग बन्द गर्ने घोषण गरेका छन् ।
इलामको सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगीले आउँदो असार १ देखि कारखाना बन्द गर्ने घोषणा गरेका छन् । उत्पादन भएको चिया बेच्न समस्या भएको भन्दै उद्योगीहरूले चिया उद्योग बन्द गर्ने घोषणा गर्दा किसानहरू समस्यामा परेका छन् ।
सूर्योदय नगरपालिकामा मात्रै २ हजार ९ सय ९५ चिया किसान छन् । नगरको ३३ हजार ६ सय ५५ रोपनीमा भइरहेको चिया खेतीबाट वार्षिक २ करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ ।
भारतीय पक्षले अहिले कलकत्तामा पुगेका चिया बेच्न अवरोध गरेपछि अहिले नेपाली भन्सार पार भएर कोलकत्ता पुगेको ३ लाख किलो भन्दा बढी चिया कोलकत्ताका गोदाममा थन्किएको छ । गोदाममा चिया थन्किदा गोदाम भाडा लगायतका समस्याले उद्योगहरू मर्कामा परेका छन् ।
इलामको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले विज्ञप्ति जारी गर्दै असार १ गतेबाट नै उद्योग बन्द गर्ने घोषणा गरेको हो । तयारी चिया बेच्ने नपाउँदा किसानबाट किनेको हरियो चिया पत्तीको मूल्य दिन नसकिने भन्दै कारखाना बन्द गर्नु रेको एसोसिएसनले जनाएको छ । सूर्योदय अर्थोडक्स टी प्रोड्युर्सस एसोसिएसनमा ५३ उद्योग आबद्ध रहेका छन् । ती उद्योग बन्द हुँदा किसानको बारीमा रहेको चिया सेउलामा परिणत हुने अवस्था आएको किसानहरूले बताए ।
नेपालमा यति बेला चियाको फर्स्ट फ्लसको तयारी चिया बेच्ने सिजन हो । तर, भारतीय चिया बोर्डले सबै बोराको गुणस्तर परीक्षण गर्नु पर्ने नयाँ नियम लगाएपछि चिया विक्री हुन सकेको छैन । यस अघि प्रत्येक गाडीको गुणस्तर परीक्षण गर्नु पर्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार नेपाली सीमा पार भएर कोलकत्ता पुगेपछि पनि चिया विक्री हुन सकेको छैन ।
चिया बेच्ने ठाउँ नै नभएको भन्दै उद्योगीले उद्योगहरू बन्द गर्न बाध्य भएको जनाएका छन् । उद्योगीका अनुसार अहिले नेपाल–भारत सीमा कटेर भारतीय बजारमा पुगेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा उतै अलपत्र छ । यता उद्योगमा प्रशोधन भइसकेको ७ लाख किलोभन्दा धेरै स्टक छ ।
एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले उत्पादन भएको चिया भण्डारणमा समस्या भएको बताए । उनले भने, कारखानामा चिया प्रशोधन भइरहेको छ । निर्यात भने हुन सकेको छैन । निर्यात नहुँदा उद्योगहरूको भण्डारण भरिएको छ । उनले उद्योगीले किसानबाट हरियो पत्ती किनेर प्रशोधन गरेको तयारी चिया नबिकेको बताए ।
भारती टी बोर्डले गएको मे १ तारिखमा स्टेन्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) लागू गरेको छ । एसीपी लागू भएपछि चियाको गुणस्तर परीक्षण सरकारी ल्याबमा गर्नु पर्ने व्यवस्था बाध्यता थपिएको थियो । यस अघि निजी ल्याबमा नेपाली चियाको गुणस्तर परीक्षण हुँदै आएको थियो । सरकारी ल्याबमा अनिवार्य परीक्षण गर्नु पर्ने भएपछि नेपाली निर्यात कर्ताहरू समस्यामा परेका थिए ।

















