सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेटलाई खुट्टाको घाउसँग तुलना गर्दै घाउ निको बनाउने भन्दा पनि नयाँ जुत्ता किन्ने खालको आएको टिप्पणी गरेका छन् ।

आज प्रतिनिधिसभामा बजेटमाथीको छलफलमा भाग लिँदै सांसद साम्पाङले बजेटले समस्या समाधान नगर्ने बताए ।

‘बजेट भन्ने वित्तिकै हामीले समस्या हाम्रो के हो, विकास हाम्रो के मा हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई लाग्दछ। समस्या भनेको खुट्टामा भएको घाउ। विकास भनेको खुट्टामा लगाउने नयाँ जुत्ता,’ साम्पाङले प्रश्न गर्दै भने, ‘हाम्रो बजेट समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर? खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर?’

साम्पाङले दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धिको विषयमा आक्रोश व्यक्त गरे ।

उलने पेट्रोलियम पदार्थको मूल्य नेपालमा विश्वकै महंगो हुँदा पनि त्यसलाई घटाउने कुरा बजेटमा उल्लेख नगरेको साम्पाङले बताए । ‘पेट्रोलियम पदार्थको मूल्य विश्वमा नै नेपालमा महंगो। त्यसरी डे टु डे चाहिने उपभोग्य सेवा सुविधा र सामग्रीको मोल त्यसरी अचाक्ली बढाएर हामीले राम्रो बजेट बनाईराखेका छैनौँ भन्ने लाग्छ,’ उनले भने।