विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले पार्टी अझै बनिनसकेको बताएका छन् । उनले पार्टी अझै  बनी नसकेकाले पार्टी बनाउन त्याग गर्नु पर्ने बताए ।

रास्वपा कोशीको पहिलो अधिवेशनमा बोल्दै शाहले सबै लागेर पार्टी बनाए मात्रै भोलि पार्टीले कार्यकर्तालाई बनाउने बताए ।

 उनले अधिवेशनहरू केवल पद बाँड्नका लागि मात्र नभई पार्टीलाई रिफर्म, सुधार, अपडेट, अद्यावधिक र सुदृढ बनाउने नियमित प्रक्रिया भएको बताए । 

पद पाउनु वा नपाउनुलाई ठुलो विषय नबनाई सङ्गठनको हितमा केन्द्रित हुन आग्रह गर्दछु शाहले भने  ।

पाटीको अधिवेशन चलिरहँदा सभापतिका लागि ८ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीमा पदका लागि आँकाक्षी बढ्दै गएपछि महामन्त्री शाहले पद नपाउँदा मन सानो नगर्न र देशको हितलाई केन्द्रमा राख्न आग्रह गरे । उनले विकृति भत्काउने र सुसंस्कृत राजनीतिको जग  बसाल्नु पर्ने बताए । 

उनले भने  पार्टीले मात्र गरेर सम्भव छैन, जबसम्म व्यक्तिमा स्वयं परिवर्तन र सुधार आउँदैन, तबसम्म यो सम्भव छैन । प्रत्येक सदस्यले  आफूलाई अपग्रेड र रिफर्म गर्न सक्नु पर्छ ।

 आसन्न स्थानीय र प्रदेशको निर्वाचनलाई ध्यानमा राखेर अधिवेशनमार्फत कोशीका सबै जिल्ला र स्थानीय तहलाई हाँक्न सक्ने एउटा सशक्त र बलियो नेतृत्व तयार गर्नुपर्ने उनको भनाई थियो । 

कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, अधिवेशन सकिए लगत्तै पार्टीले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनका लागि गम्भीर तयारी सुरु गर्नु पर्छ ।  जसरी सङ्घमा पार्टीले सफलता हासिल गर्‍यो, त्यसरी नै कोशी प्रदेशका १३७ वटै स्थानीय तह र प्रदेश निर्वाचनमा पनि विजय हासिल गर्नु पर्छ ।