विराटनगर । ओखलढुङ्गाका दुई जना वडाध्यक्ष पदबाट राजीनामा दिएर वैदेशिक रोजगारीमा गएका छन् । एक महिना भित्रमा उनीहरू वडाध्यक्षबाट राजीनामा दिँदै विदेश उडेका हुन् ।
ओखलढुंगको चम्पादेवी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष सुजन पौडेल वैदेशिक रोजगारीका लागि जापान गएका छन् । उनले दुई दिन अघि पदबाट राजीनामा दिएको हुन् । नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष पौडेल वैदेशिक रोजगारीकालागि पदबाट राजीनामा दिएर जापान गएका हुन् ।
उनी चम्पादेवी गाँउपालिकाका प्रवक्ता समेत थिए । चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले वडाध्यक्ष पौडेलले राजीनामा बुझाएको बताए । उनले भने, उहाँले वडाध्यक्ष र प्रवक्ताबाट राजीनामा दिनु भएको छ । कामका लागि जानु भएको हो की घुम्नका लागि भनेर चाहिँ म भन्न सक्दिन ।
अध्यक्ष केसीले राजीनामा दिएको विषयमा आफूले धेरै कुरा नसोधेको बताए । उनले भने, उहाँले कार्यपालिकामा राजीनामा नबुझाएर मलाई बुझाउनु भएको हो । व्यक्तिगत कारणले दिएको भनेपछि मैले धेरै कुरा गरिन । ७९को स्थानीय तहको निर्वाचनमा पौडेलले ३९४ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार पौडेलले ३५७ मत पाएका थिए ।
यस अघि ओखलढुङ्गाकै सुनकोसी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोविन्द तामाङले पनि राजीनामा दिएका थिए । राजीनामा दिएर उनी अस्ट्रेलिया गएका हुन् । नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा विजयी भएका तामाङले व्यत्तीगत कारणले अस्ट्रेलिया गएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै वडावासी दाजुभाइका गुनासो भए पनि व्यत्तीगत कारणले विदेश जानु परेको बताएका छन् ।

















