सुनसरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा ‘पृतनापति ट्रफी–२०८३’ आइतबारदेखि सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन पूर्वी पृतनाका पृतनापति उपरथी गौरव कुमार केसीले गरेका हुन्।
जेठ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, स्विमिङ, बक्सिङ, जुडो र एथलेटिक्ससहित विभिन्न आठ विधाका खेल समावेश गरिएको छ।
पूर्वी पृतना अन्तर्गतका तीन बाहिनीका १० गण र चार गुल्मबाट छनोट भएर आएका कुल ९९६ खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।
सहभागीमध्ये ८२० पुरुष र १७६ महिला खेलाडी रहेका छन्।
नेपाली सेनाभित्र खेलकुद संस्कृतिलाई प्रवर्द्धन गर्ने तथा उत्कृष्ट खेलाडी पहिचान गर्ने उद्देश्यले आयोजना हुने पृतनापति ट्रफीलाई सेनाको आन्तरिक खेल संरचनाको महत्वपूर्ण प्रतियोगिताका रूपमा हेरिन्छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली र खेलाडीहरूले आगामी भदौमा काठमाडौंमा आयोजना हुने ‘प्रधान सेनापति ट्रफी’मा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
हाल नेपाली सेनाले खेलकुदमार्फत अनुशासन, नेतृत्व क्षमता र शारीरिक दक्षता अभिवृद्धिमा जोड दिँदै आएको छ।
पूर्वी पृतनामा भइरहेको यो प्रतियोगिताले सैनिक खेलाडीहरूबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै महिला सहभागिता बढ्दै गएको सन्देशसमेत दिएको छ।
प्रधान सेनापति ट्रफी नजिकिँदै जाँदा इटहरीमा जारी पृतनापति ट्रफीले उत्कृष्ट खेलाडी छनोटमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।















