इटहरी । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुनसरी जिल्ला खेलकुद विकास समितिले खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ।

समितिले प्रतियोगितामा सहभागी हुने महिला तथा पुरुष खेलाडी छनोटका लागि इच्छुक खेलाडीबाट आवेदन फाराम माग गरेको हो।

समितिका अध्यक्ष केशव कार्कीका अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीअन्तर्गत पहिलो चरणमा जिल्लाबाट सम्भावित खेलाडीको विवरण संकलन गरी छनोट प्रक्रिया अघि बढाउन लागिएको हो।

त्यसका लागि सुनसरीका विभिन्न स्थानीय तह तथा क्षेत्रमा रहेका इच्छुक फुटबल खेलाडीलाई फाराम भर्न आग्रह गरिएको छ।

समितिले सार्वजनिक गरेको सूचनाअनुसार महिला तथा पुरुष फुटबल खेलाडीले धरान र इटहरीस्थित सुनसरी जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सम्पर्क गरी फाराम भर्न सक्नेछन्। फाराम भर्ने अन्तिम म्याद असोज १९ गतेसम्म तोकिएको छ।

फाराम भर्न इच्छुक खेलाडीले नागरिकता वा जन्मदर्ताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो पेस गर्नुपर्नेछ।

यस्तै, एक जना खेलाडीले तीन प्रति फाराम भर्नुपर्ने समितिले जनाएको छ।

अध्यक्ष कार्कीले जिल्लामा रहेका प्रतिभावान् खेलाडीलाई छनोट प्रक्रियामा सहभागी गराउने उद्देश्यले आवेदन खुलाइएको बताए।

उनका अनुसार आवेदन संकलनपछि आवश्यक प्रक्रिया पूरा गरी खेलाडी छनोट तथा प्रशिक्षणको तयारी अघि बढाइनेछ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रदेश र जिल्लास्तरबाट खेलाडी छनोटको प्रक्रिया अघि बढिरहेको छ।

सुनसरीबाट विभिन्न खेल विधामा सक्षम खेलाडीलाई राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्ने गरी समितिले तयारी थालेको हो।