इटहरी – खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै विश्वआदर्श कलेजका प्राचार्य गणेश दुलाल सम्मानित भएका छन्।

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले बुधबार विराटनगरमा आयोजित कार्यक्रममा दुलाललाई नगद १० हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरेको हो।

सम्मानपत्रमा विगत लामो समयदेखि निजी क्षेत्रमा आबद्ध रही कोशी प्रदेशको खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रदेश सरकारका तर्फबाट सम्मान गरिएको उल्लेख छ।

कार्यक्रममा पत्रकारितामार्फत खेलकुद क्षेत्रमा योगदान पुर्‍याएको भन्दै कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता अर्जुन सुबेदी पनि सम्मानित तथा पुरस्कृत भएका छन् ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले बुधबार विराटनगरमा आयोजना गरेको सम्मान कार्यक्रममा सुबेदी सहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई नगदसहित सम्मान गरेको हो ।

सोही कार्यक्रममा सन् २०२५ नोभेम्बर ११ देखि २३ तारिखसम्म भारत र श्रीलंकामा सम्पन्न महिला टि २० दृष्टीबिहिन क्रिकेटमा नेपाललाई रजत पदक दिलाउन योगदान दिएका इलामकी प्रतिभा राई र सुनसरीकी सुनिता भुजेललाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।

प्रतियोगितामा टोलीका प्रशिक्षक उदयपुरका नरेन्द्र निरौलालाई २५ हजार रुपैयाँ प्रदान गरिएको बोर्डले जनाएको छ ।

कार्यक्रममा कोशी प्रदेशका बिभिन्न खेलाडी, प्रशिक्षक, खेल क्षेत्रमा योगदान पुर्याउनेहरुलाई पनि सम्मान गरिएको थियो ।