इटहरी – कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत पहिलो दिन सम्पन्न क्वार्टरफाइनल खेलबाट धरानको फेयर फुटबल क्लब र तेह्रथुमको सुजनसिल महिला फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

पहिलो क्वार्टरफाइनलमा धरानले झापाको काकडभिट्टा महिला फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

खेलमा धरानका लागि दिपा राईले दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका निभाइन्।mm

उनले खेलको १५औँ मिनेट र दोस्रो हाफको १७औँ मिनेटमा गोल गरिन् भने प्रजिता राईले २८औँ मिनेटमा अर्को गोल थपिन्। उत्कृष्ट प्रदर्शनका लागि दिपा राई ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ५ हजार रुपैयाँबाट पुरस्कृत भइन्।

दोस्रो क्वार्टरफाइनलमा तेह्रथुमको सुजनसिल महिला फुटबल क्लब र मोरङको बेलबारी फुटबल क्लबबीच निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा तेह्रथुमले ३–१ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो।

तेह्रथुमको जितमा गोलकिपर करुणा बुढाथोकी नायक बनिन्।mahila football 1

ट्राइब्रेकरमा उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाएकी उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् र नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

प्रतियोगितिको उद्घाटन तथा पहिलो दिनको खेल अवलोकनका लागि प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विलप घोष प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

प्रतियोगिता अन्तर्गत असार १६ गते बाँकी दुई क्वार्टरफाइनल खेल हुनेछन्।

जसमा धनकुटा जिल्ला फुटबल संघ र आत्मा पवित्र  फुटबल क्लब माबेङबुङ (इलाम) तथा गाईघाट फुटबल क्लब उदयपुर र इटहरी फुटबल क्लब सुनसरीबीच प्रतिस्पर्धा हुनेछ।

ती खेलबाट सेमिफाइनल पुग्ने बाँकी दुई टोलीको टुंगो लाग्नेछ। 

कोसी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा जारी प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ पाउनेछ ।