इटहरी । इटहरीलाई ‘स्पोट्स सिटी’ घोषणा नगर्दा धेरै अवसर गुमाउनुपरेको इटहरीका खेल क्षेत्रका अगुवाहरुले बताएका छन् । इटहरीलाई खेलकुदको माध्यमबाट छोटो समयमा विकास गर्न सकिने सम्भावना हुँदा हुँदै पनि स्थानीय सरकारको नेतृत्व क्षमताका कारण अवसरहरु गुमाउनुपरेको उनीहरुले बताएका छन् ।
अब इटहरीको खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारले स्पष्ट नीति, पर्याप्त बजेट, पूर्वाधारको संरक्षण गर्दै नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्नुपर्ने उनीहरुले सुझाव दिएका छन् ।
सञ्चारपाटी डटकमको आयोजना तथा राष्ट्रिय जागृति क्लब इटहरीको संयोजनमा आयोजित ‘इटहरीमा खेलकुदको भविष्य ः पूर्वाधार, नीति र गतिविधि’ विषयक अन्तरक्रियामा यस्तो सुझाव दिइएको हो ।
खेल पत्रकार अर्जुन सुवेदीले इटहरीको खेलकुदको विगत देखी वर्तमान सम्मको अवस्था, सम्भावना र चुनौति बारे प्रस्तुती दिए । त्यस्तै अभियन्ता हिमाल दाहालले भोलिको इटहरी अभियान र कार्यक्रमको उद्देश्य बारे जानकारी दिए ।
कार्यक्रममा सहभागी खेल क्षेत्रका अग्रज, खेलाडी, प्रशिक्षक, खेल पत्रकार तथा अन्य सरोकारवालाहरूले पर्याप्त सम्भावना भए पनि योजनाबद्ध विकास हुन नसकेको बताए । उनीहरुले खेल एकेडेमी बनाउनुपर्ने, नियमित प्रतियोगिता गर्नुपर्ने माग राखे ।
कार्यक्रमका संयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष केशव कार्कीले इटहरीमा खेल पूर्वाधार बने पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन नसकेको बताए । समग्र योजना र नीति बन्न नसक्दा हिजोको खेलको इतिहास कायम राख्न नसकेको यथार्थ अवस्था बताए । अध्यक्ष कार्कीले खेलाडी र खेल संस्थाहरुले आर्थिक समस्याको सामना गर्नु परेको बताउँदै सबै खेललाई अघि बढाउनका साझा योजना आवश्यक परेको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव बिष्टले इटहरीको खेलकुद विकासका लागि विगतमा भएका निर्णय र सम्भावनालाई पुनः कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।
इटहरी रंगशालाका लागि विगतमा नेपाल सरकारले १६ बिघा जग्गा उपलब्ध गराउने निर्णय भए पनि तत्काल ८ बिघा मात्र उपलब्ध भएको र थप संरचना निर्माण भए बाँकी जग्गा उपलब्ध गराउने विगतको निर्णयलाई कार्यान्वयन गर्न इटहरीले दबाब दिनुपर्ने बताए ।
कार्यक्रममा उपस्थित भएका विभिन्न खेल विधाका अग्रजहरुले आफ्ना धारणा राखे । उनीहरुले इटहरीको खेलकुद विकास गर्न स्थानीय तहले गर्नुपर्ने काम बारे सुझाव दिएका छन् ।
कसले के भने ?
केशव बिष्ट, राखेप पूर्व सदस्य सचिव
राखेपका पूर्व सदस्य सचिव केशव बिष्टले आफूले सदस्य सचिव हुँदा बनाएको संरचनामा अरु संरचना थपिन नसकेको बताए । उनले इटहरीको खेलकुद विकासका लागि विगतमा भएका निर्णय र सम्भावनालाई पुनः कार्यान्वयनमा ल्याउन सहि समय आएको बताए । इटहरी रंगशालाका लागि विगतमा नेपाल सरकारले १६ बिघा जग्गा उपलब्ध गराउने निर्णय भए पनि तत्काल ८ बिघा मात्र उपलब्ध भएको र थप संरचना निर्माण भए बाँकी जग्गा उपलब्ध गराउने विगतको निर्णयलाई कार्यान्वयन गर्न इटहरीले दबाब दिनुपर्ने बिष्टले बताए । बाँकी ८ बिघा जग्गा पनि प्राप्त भएमा स्विमिङ पुल, खेलाडी आवास तथा थप अभ्यास मैदान निर्माण गर्न सकिने सम्भावना रहेको उनले सुनाए । रंगशाला नगरपालिकाको स्वामित्वमा नभए पनि इटहरीमै अवस्थित रहेको कारण संरक्षण र विकासमा स्थानीय सरकारले लगानी गर्नुपर्ने बताए । खेलकुदलाई प्रतियोगिता आयोजना गर्ने गतिविधिमा मात्र सीमित नराखी दीर्घकालीन योजना, अनुसन्धान, प्रशिक्षण, खेलाडी उत्पादन र पूर्वाधार विकाससँग जोड्न आग्रह गरे । इटहरीलाई खेलमैत्री शहरका रूपमा विकास गरी विदेशी खेलाडी तथा खेल पर्यटकलाई समेत आकर्षित गर्न सकिने सम्भावना रहेको उनले बताए ।

सीपी पौडेल, पूर्व अध्यक्ष क्यान सुनसरी
क्यान सुनसरीका पूर्वअध्यक्ष सीपी पौडेलले इटहरीको खेलकुद नीति निर्माणको पहल खेलकुदकर्मीबाटै हुनुपर्ने बताए । इटहरीमा राष्ट्रिय महिला क्रिकेट प्रतियोगितापछि क्रिकेटका प्रतियोगिताले गति लिएको बताउँदै क्रिकेटकै लागि भनेर मैदान नहुनु ठुलो दुर्भाग्य भएको बताए ।
इटहरीलाई स्पोर्टस् सिटि घोषणा गरिएको भए अहिले इटहरीमा खेल पूर्वाधारमा धेरै विकास भइसक्ने उनले सुनाए । राजनीतिक इगोका कारण इटहरी विकासबाट पछि धकेलिएको उनको भनाई थियो ।
सुविधासम्पन्न क्रिकेट रंगशाला बने एनपिएलका कतिपय खेलहरु इटहरीमा गर्न सकिने र त्यसले इटहरीको सामाजिक, आर्थिक विकास हुने उनले बताए । उनले इटहरीमा खेल एकेडेमीको अवधारणासहित अघि बढ्नुपर्ने बताए ।
सुरेश कार्की ,अध्यक्ष जिल्ला ब्याडमिन्टन क्लब सुनसरी
ब्याडमिन्टन खेलाडी सुरेश कार्कीले ब्याडमिन्टनका लागि पूर्वाधार भए पनि पर्याप्त बजेट र नियमित प्रशिक्षणको अभाव रहेको बताए । खेलाडी र स्थानीय खेलकर्मीले समेत स्रोत जुटाएर पूर्वाधार तथा प्रशिक्षण सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनले बताए । विद्यालयस्तरमा प्रतियोगिता बढ्दै गएको र ब्याडमिन्टनबाट राम्रो नतिजा आउन थालेको उल्लेख गर्दै खेलाडीलाई पढाइसँगै प्रशिक्षणका लागि छात्रवृत्ति तथा अन्य अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।
समीर पोख्रेल ,कराते विधा
कराते विधा तर्फबाट धारणा राख्दै समीर पोख्रेलले सरकारले धेरै दर्शक हुने तथा आफ्नो प्रचार बढी हुने कार्यक्रमलाई मात्र स्थानीय सरकारले प्राथमिकतामा राखेर सहयोग दिने प्रवृत्ति देखिएको बताए । इन्डोर खेलहरूमा पर्याप्त ध्यान नदिइएको, प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनको कमी रहेको र निजी क्षेत्रबाट प्रायोजन जुटाउन कठिन भएको उनले बताए । खेलकुदका सबै विधालाई समेट्ने प्रभावकारी नीति र संरचना आवश्यक रहेको उनको भनाइ थियो ।

ढुण्डिराज गुरागाईं, अध्यक्ष, जिल्ला भलिबल संघ सुनसरी
भलिबल विधा तर्फबाट धारणा राख्दै जिल्ला अध्यक्ष ढुण्डिराज गुरागाईंले रंगशालामा ट्रससहितको संरचना निर्माण गरी इन्डोर खेल सञ्चालन गर्न सकिने बताए । खेलाडीको सुरक्षालाई प्राथमिकता दिएर साँझको समयमा समेत प्रशिक्षण गर्न सक्ने वातावरण बनाउनुपर्ने र विद्यालय तथा कलेजमा खेल प्रशिक्षक नियुक्त गर्नुपर्ने उनको सुझाव थियो ।
इटहरीमा रात्रीकालीन खेलको अवधारण विकास गर्दै प्रतियोगिता सञ्चालन गर्नुपर्ने बताए । साथै उनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गरेका खेलाडीलाई राज्यले सम्मान र प्रोत्साहन दिन माग गरे ।
श्याम पौडेल, योग प्रशिक्षक
योग प्रशिक्षक श्याम पौडेलले योगलाई केवल आध्यात्मिक गतिविधिका रूपमा मात्र नहेरी खेलकुद र स्वास्थ्यसँग जोडेर अघि सुझाव दिए । विद्यालयमा योग प्रशिक्षणको अभ्यास भइरहेकाले यसलाई अझ व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो । उनले बालबालिकादेखि ज्येष्ठ नागरिक सबैलाई योग आवश्यक रहेको बताउँदै अन्य खेलमा आबद्ध खेलाडीहरुले पनि योगद्वारा खेल क्षमता बढाउन सक्ने र विद्यार्थीहरुलाई अध्ययन र सृजनामा पनि योगले महत्वपूर्ण सहयोग गर्ने बताए ।
कुमार गुरुङ, तेक्वान्दो प्रशिक्षक
तेक्वान्दो प्रशिक्षक कुमार गुरुङले अन्य प्रदेश तथा स्थानीय तहले खेलाडीलाई आवश्यक सामग्री उपलब्ध गराउने अभ्यास सुरु गरिसकेको भए पनि इटहरीमा पुरानै शैली कायम रहेको बताए । खेलकुदमा प्रविधिको प्रयोग बढाउनुपर्ने, रेफ्री तथा प्रशिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्ने र खेलाडीको प्रतिभाअनुसार आवश्यक सामग्री तथा प्रशिक्षण उपलब्ध गराउनुपर्ने उनले बताए ।
सुरेश बस्नेत, साहसिक खेल व्यवसायी
साहसिक खेल व्यवसायी सुरेश बस्नेतले साहसिक खेललाई पर्यटनसँग जोडेर इटहरी र कोशी प्रदेशको नयाँ पहिचान निर्माण गर्न सकिने सम्भावना देखाए । कायकिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ लगायतका खेलको ठूलो सम्भावना कोशी प्रदेशको इटहरीले नेतृत्व लिन सक्ने उनको भनाइ थियो । भारत र बंगलादेशका पर्यटक तथा खेलप्रेमीलाई समेत आकर्षित गर्न सकिने भएकाले व्यवस्थित पूर्वाधार, सुरक्षा र अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन आवश्यक रहेको उनले बताए ।
दिवश राई, पूर्व फुटबल खेलाडी
फुटबल खेलाडी तथा प्रशिक्षक दिवस राईले इटहरीका खेलमैदानको नियमित मर्मतसम्भार नहुँदा खेलाडी उत्पादनमा समस्या भइरहेको बताए । विगतको जस्तो उत्साह, प्रोत्साहन र प्रतियोगिताको वातावरण नरहेको भन्दै १५–१६ वर्ष उमेरदेखि नै खेलाडीलाई छनोट गरेर एकेडेमीमार्फत प्रशिक्षण दिने व्यवस्था गर्नुपर्ने बताए । इटहरी गोल्डकप सञ्चालन हुँदै आए पनि इटहरीकै खेलाडी घट्दो क्रममा रहेको गुनासो गरे ।
सुरज कार्की, फिटेनश व्यवसायी
इटहरीका सुरज कार्कीले राष्ट्रियस्तरमा सफलता हासिल गरेका खेलाडीहरुले स्थानीय तहबाट सम्मान र प्रोत्साहन नपाउने गुनासो गरे । आफ्नै खर्चमा प्रतियोगितामा सहभागी भएर पदक जितेका खेलाडीको उपलब्धिलाई राज्यले संस्थागत रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे । आफ्नो छोराले टेबलटेनिसमा राष्ट्रिय प्रतियोगिता जित्दा पनि स्थानीय सरकारले र इटहरीले वास्ता नगरेको देख्दा खेललाई प्रोत्साहनको अभाव रहेको आफूले महसुस गरेको बताए ।
विप्लव दाहाल, अभिभावक
अभिभावक विप्लव दाहालले आफ्नी छोरीले ब्याडमिन्टनका ७ वटा राष्ट्रिय स्वर्ण पटक जिते पनि इटहरीले वास्ता नगरेको गुनासो गरे । उनले इटहरीका अनुरोध थापाले पटक पटक सामाग्री सहयोग गरेपनि राज्यले पनि सिस्टम बनाएर सहयोग गर्नुपर्ने धारणा राखे ।
वासुदेव शाह, भलिबल प्रशिक्षक
भलिबल प्रशिक्षक वासुदेव शाहले खेलकुद विकासको मुख्य आधार पूर्वाधार र स्रोत भएको बताउँदै बनेका संरचनाको संरक्षण तथा प्रभावकारी व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

राम गिरी फिटेनस व्यवसायी
योग प्रशिक्षक तथा फिटनेस सञ्चालक राम गिरीले खेलाडीलाई प्रोत्साहन गर्नुका साथै बालबालिकादेखि अभिभावकसम्मले खेलकुद र व्यायामको संस्कार विकास गर्नुपर्ने बताए । स्वस्थ समाज निर्माणका लागि खेलकुद आवश्यक रहेको र खानपान तथा वातावरणमा आएको परिवर्तनसँगै नियमित शारीरिक गतिविधि गर्न आग्रह गरे ।
तीर्थ याक्सो, भेट्रान खेलाडी
भेट्रान खेलाडी तीर्थ याक्सोले इटहरी रंगशालाको संरक्षण र व्यवस्थापन स्थानीय तहकै जिम्मेवारीभित्र राख्न माग गरे । उनले विद्यालय, कलेजलगायत व्यवशायीक संस्थाहरुले खेलाडीलाई सहयोग गर्दै लानुपर्ने धारणा राखे ।
लिला मगर फुटबल खेलाडी
फुटबल खेलाडी लिला मगरले इटहरी रंगशालाको व्यवस्थापन र संरक्षणका लागि सम्बन्धित जिम्मेवार व्यक्तिहरुलाई जवाफदेही बनाउन सञ्चार माध्यमले खबरदारी गर्नुपर्ने बताए ।

















