काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका ९८–९८ खेलाडी गरी कुल ६ सय ८६ खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन्, जहाँ कुल ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।
एथलेटिक्समा २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ भने भलिबल र कबड्डीमा समान २–२ स्वर्ण पदक दाउमा रहनेछन्। यस्तै, कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि खेलाडीहरू प्रतिस्पर्धामा उत्रनेछन्।
एथलेटिक्सका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा, भलिबल राखेपको कभर्डहलमा तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछन्। कराते कीर्तिपुरस्थित कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा र उसुका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा आयोजना गरिनेछन्।
प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका सचिव मिनकुमार शर्माका अनुसार प्रतियोगितालाई बागमती प्रदेश खेलकुद विकास परिषद्, नेपालय इन्टरनेसनल प्रालि तथा केआईइसीले सहयोग गरेका छन्।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी शुक्रबार सम्पन्न हुनेछ।
















