सुनसरी । कोशी प्रदेशमा आइतबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा इटहरी रंगशालामा सुरु भएको प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घघाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले गरेका हुन् ।

प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका करिब १ हजार ७ सय खेलाडीको सहभागिता रहेको बोर्डका सदस्य सचिव बिप्लव घोषले जानकारी दिए ।

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधामा सञ्चालन हुने प्रतियोगिताबाट छनोट भएका खेलाडीले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

सोमबार समापन हुने प्रदेशस्तरीय छनोटबाट उत्कृष्ट खेलाडी छनोट गरी सोही दिन काठमाडौंका लागि बिदाइ गरिने घोषले बताए ।

उनका अनुसार कोशी प्रदेशबाट १ सय १५ खेलाडी तथा पदाधिकारी राष्ट्रिय प्रतियोगिताका लागि पठाइने छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौंमा जेठ २० देखि २२ गतेसम्म हुने केन्द्रस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ६० भन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।

यसैबीच, प्रतियोगिताको पहिलो दिन एथलेटिक्सतर्फ विभिन्न स्पर्धाका नतिजा सार्वजनिक भएका छन् ।

छात्रा १५०० मिटर दौडमा मोरङकी मन्दिरा महतारा प्रथम, धनकुटाकी एनिशा थापा द्वितीय तथा तेह्रथुमकी अरुणा लिम्बू तृतीय भइन् ।

छात्र १५०० मिटर दौडमा ताप्लेजुङका अमिर लिम्बू प्रथम, पाँचथरका समिर आङदेम्वे द्वितीय र ओखलढुंगाका गुणराज दाहाल तृतीय भए ।

छात्रा १०० मिटर दौडमा मोरङकी विनिशा रिजाल प्रथम, झापाकी संगीता रसाइली द्वितीय र झापाकै अस्मिता लाम्गादे तृतीय भइन् ।

छात्र १०० मिटर दौडतर्फ झापाका सुवास दर्जी प्रथम, सुनसरीका नितेश गच्छदार द्वितीय तथा मोरङका सुवेक थापा तृतीय भए ।

त्यसैगरी छात्र सटपुट थ्रोमा धनकुटाका डेविट लिम्बू प्रथम, ताप्लेजुङका दिलिप लिम्बू द्वितीय र तेह्रथुमका दिनेश परियार तृतीय भए ।

छात्रा सटपुट थ्रोतर्फ झापाकी सिम्रन राई प्रथम, पाँचथरकी सुस्मिता सिवु द्वितीय र संखुवासभाकी मनिषा राई तृतीय हुन सफल भइन् ।