सुनसरी । इटहरीलाई ‘व्यावसायीक हब’ बनाउने सम्भावना हुँदाहुँदै पनि स्थानीय सरकारले पहल लिन नसक्दा इटहरी विकासमा पछि परेको व्यवसायीहरुले बताएका छन् । इटहरीमा व्यावसायीक वातावरण निर्माण गर्न स्थानीय सरकार चुकेको व्यावसायीक क्षेत्रका अगुवाहरुले बताए ।

‘भोलिको इटहरी व्यावसायीक दृष्टिकोण’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै इटहरीका व्यवसायीहरुले नीति नियम, प्रक्रिया, पुर्वाधार लगायतका समस्या समाधान गर्न अग्रसरता लिन स्थानीय सरकारसँग माग गरेका छन् । इटहरीको व्यावसायीक विकासका लागि निजी क्षेत्र स्थानीय सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए ।

गोरखा डिपार्टमेन्ट स्टोर सञ्चालक युवा व्यवसायी सन्तोष आचार्यले प्रविधिमा आधारित काम आग्रह गरे । अहिले प्रविधिलाई बेवास्ता गरे पनि भविष्यमा प्रविधि बिना प्रतिस्पर्धा गर्न नसकिने उनले बताए ।

त्यस्तै अर्का युवा व्यवसायी सिनेट रिजालले इटहरीलाई धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्नुपर्ने धारणा राखे । भारतीय विमानस्थलहरूको निकटता, एसियन हाइवेले नयाँ सम्भावनाका ढोकाहरु खोलेको उनले बताए ।

व्यवसायी ज्ञानेन्द्र पराजुलीले उत्पादनमुलक उद्योगभन्दा सेवामुलक उद्योगमा व्यवसायीहरु बढी सक्रिय देखिएपनि उत्पादनमूलक उद्योग पनि फाइदामा रहेको बताए । पोल्ट्री क्षेत्रमा दाना उत्पादनका लागि आवश्यक मकै खेतीका लागि प्रदेश सरकारसँग जग्गा माग गरेको उनले बताए ।

business photo (2)


गुुणस्तरीय शिक्षा लिन बाहिर विद्यार्थी पठाउने क्रमलाई इटहरीका निजी विद्यालयहरुले रोकेको प्याब्सनका प्रदेश अध्यक्ष सुमित थापाले बताए । इटहरीमा विद्यालयहरुको संख्यासँगै गुणस्तरसमेत बढिरहेको थापाले जानकारी दिए । इटहरीमा शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारसँग निजी विद्यालयहरु पनि सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका महासचिव विनोद पौडेलले इटहरीको आर्थिक अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले इटहरीको व्यापार व्यावसाय, जनसंख्या लगायतका विषयमा प्रस्तुत गरेका थिए ।

इटहरीको शहरी विकास र जनसंख्या वृद्धिका आधारमा स्थानीय सरकारले अग्रसरता लिनुपर्ने अवस्था रहेको बताए । इटहरीको भू–वर्गीकरण, भवन निर्माण अनुमति, ढल निकास, औद्योगिक क्षेत्र, विद्युत् आपूर्ति, सडक विस्तार र लगानीमैत्री वातावरणका विषयमा इटहरी सरकारको स्पष्ट दीर्घकालीन योजना आवश्यक रहेको उनले बताए ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले इटहरीलाई भविष्यमा ‘लजिस्टिक हब’ बनाउन सकिने सम्भावना रहेको बताए । उनले नयाँ व्यवसाय थाल्नेलाई स्थानीय सरकारले प्रोत्साहन गर्नुको साटो झन् बढी कर लगाउने, निरुत्साहित गर्ने गरेको बताए ।

इटहरी जेसीसका अध्यक्ष मिसन पराजुलीले युवाहरुलाई सामाजिक तथा नेतृत्व विकासको काम गर्दै आएको बताए । उनले इटहरीको व्यावसायीक हब बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।