सुनसरी । राष्ट्रिय स्कुल च्याम्पियनसिप सुनसरी क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलहरूमा स्मल हेभेन स्कुल, ब्राइट फ्युचर स्कुल, कोशी सेन्ट जेम्स स्कुल र कोशी पब्लिक एकेडेमीले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन्।

इटहरीस्थित कस्तुरी एकेडेमी र इनरुवाको स्मल हेभेन स्कुलबीच भएको पहिलो खेलमा स्मल हेभेनले ३० रनको जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो।

दोस्रो खेलमा ब्राइट फ्युचर स्कुल र प्याराडाइज स्कुलबीच प्रतिस्पर्धा हुने तालिका रहे पनि प्याराडाइज स्कुल अनुपस्थित भएपछि ब्राइट फ्युचरले वाकओभरमार्फत अर्को चरणको यात्रा तय गर्‍यो।mom 2

त्यसैगरी, तेस्रो खेलमा कोशी सेन्ट जेम्स स्कुल, इटहरीले पिस जोन स्कुल, इटहरीलाई १२ रनले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्‍यो।

दिनको चौथो खेलमा झुम्काको युनिक एकेडेमी र इनरुवाको कोशी पब्लिक एकेडेमी आमनेसामने भएका थिए।

उक्त खेलमा कोशी पब्लिक एकेडेमी ७ विकेटले विजयी हुँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो।

सुनसरी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता जेठ २० गतेसम्म चल्नेछ।

प्रतियोगितामा जिल्लाका २० विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।