सुनसरी । कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा हुने भएको छ।
प्रदेश खेलकुद विकास बोर्डले शनिबार पत्रकार सम्मेलनमार्फत आइतबार र सोमबार इटहरीस्थित प्रदेशिक रंगशालामा प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो।
मुख्यमन्त्री हिक्मतकुमार कार्की ले उद्घाटन गर्ने प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन्।
प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका टोली सहभागी हुनेछन् भने करिब १ हजार ७ सय खेलाडी तथा अफिसियलको सहभागिता रहने जनाइएको छ।
प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा हुने १६औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डका लागि छनोट हुनेछन्।
प्रशिक्षकसहित ११५ सदस्यीय टोली कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने बोर्डका सदस्य सचिव बिप्लव घोष ले जानकारी दिए।
बोर्डमा आठ महिनादेखि सदस्य सचिव नियुक्त हुन नसक्दा प्रदेशस्तरीय छनोट प्रतियोगिता समयमै हुन सकेको थिएन।
नयाँ नेतृत्व आएपछि प्रतियोगिता आयोजना हुन लागेको र यसले केही समयदेखि सुस्त रहेको प्रदेशको खेलकुद गतिविधिलाई पुनः गति दिने अपेक्षा आयोजकको छ।
















