सुनसरी । क्रिकेटको बढ्दो लोकप्रियतासँगै देशका विभिन्न ठाउँमा खेल पूर्वाधार निर्माणको पहल भइरहँदा सुनसरीको इटहरीमा भने बनिसकेको क्रिकेट मैदानसमेत राजनीतिक स्वार्थ र बेवास्ताको शिकार बनेको छ ।

वर्षभरि खेल गतिविधिले व्यस्त रहने मैदान दलगत स्वार्थमा अल्झिँदा खेल पूर्वाधार कसरी जीर्ण बन्छ भन्ने उदाहरण बनेको छ ।

संरक्षण अभावमा अवस्था खस्किँदै जाँदा खेलाडी र क्रिकेटप्रेमी चिन्तित छन् ।

इटहरी–९ स्थित डिभिएम स्कुल छेउमा रहेको क्रिकेट मैदान पूर्वी नेपालकै सक्रिय क्रिकेट मैदानमध्ये एक मानिन्छ ।

यहाँ स्थानीयदेखि राष्ट्रियस्तरसम्मका क्रिकेट प्रतियोगिता नियमित सञ्चालन हुँदै आएका छन् ।

विशेषगरी सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न भएपछि यो मैदानमा ठूला प्रतियोगिताहरूको श्रृंखला नै सुरु भएको थियो ।

त्यसपछि विभिन्न क्षेत्रीय र राष्ट्रिय प्रतियोगिताले मैदानलाई निरन्तर व्यस्त राख्दै आएका छन् ।

तीन वर्षअघि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना गरिँदा मैदानको पिचलाई लाखौँ रुपैयाँ खर्च गरेर स्तरोन्नति गरिएको थियो ।

प्रतियोगिता सम्पन्न गर्न मात्र नभई भविष्यमा समेत उपयोग हुने सोचसहित बनाइएको पिचलाई दीर्घकालीन खेल पूर्वाधारका रूपमा हेरिएको थियो ।

तर त्यसपछि मैदान संरक्षणमा स्थानीय सरकारको सक्रियता नदेखिँदा अवस्था खस्किँदै गएको सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेल बताउँछन् ।

park

यसअघिको इटहरी उपमहानगर नेतृत्वले त मैदान मासेर पार्क निर्माण गर्ने निर्णय नै गरेको थियो ।

ठेक्का प्रक्रिया अघि बढेपछि खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरू आन्दोलनमा उत्रिनुपरेको थियो ।

चौतर्फी आलोचनापछि उक्त योजना रोकियो ।

उपमहानगरको नेतृत्वमा हेमकर्ण पौडेल आएसँगै मैदान संरक्षण र स्तरोन्नतिको आशा गरिएकोमा त्यो आशा पनि निराशामा बदलिएको स्थानीय खेलाडी दिवस बिष्टको भनाइ छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले समेत पटक–पटक मैदानको निरीक्षण गरी नगरप्रमुख पौडेलसँग भेटेर संरक्षण र विकासमा ध्यान दिन आग्रह गरेका थिए ।dvm ground

तर स्थानीय तहमा नेतृत्व गरिरहेका कांग्रेस र एमालेका जनप्रतिनिधिबीचको शक्ति संघर्ष र स्वार्थका कारण क्रिकेटका लागि तयार भइसकेको यो संरचनाले आवश्यक प्राथमिकता पाउन सकेको छैन ।

मैदानको संरक्षण र स्तरोन्नतिको योजना अघि बढ्नुको सट्टा क्रिकेट मैदानमै फुटबल खेल तथा अन्य गतिविधि सञ्चालन हुँदा मैदानको गुणस्तर झन् खस्किँदै गएको छ ।

क्रिकेटमा अन्तर्राष्ट्रिय सफलता हासिल गरिरहेको नेपालका लागि स्थानीय तहका यस्ता मैदान प्रतिभा उत्पादनका आधारभूमि हुन् ।

तर इटहरीको यो मैदान भने राजनीतिक प्राथमिकताको अभाव र दलगत स्वार्थको बन्दी बनेको देखिन्छ ।

लाखौँ खर्चेर तयार पारिएको मैदान जोगाउने कि बेवास्ताकै कारण जीर्ण बन्न दिने भन्ने प्रश्न अहिले इटहरी उपमहानगरको नेतृत्वसामु उभिएको छ ।