सुनसरी । सरकारले तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा रंगशालालाई फल्डलाइटमा स्तरोन्नति गर्ने भएको छ। यस्तै, प्रमुख आठ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निमार्ण गर्ने पनि सरकारको तयारी छ।
सरकारले खेलकुद क्षेत्रमा ४ अर्ब तीन करोड विनियोजन गरेको छ। आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन्।
विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तिमा २ हजार क्षमताका इन्डोर मल्टिप्रपोज स्टेडियम आगामी ३ वर्षभित्र निर्माण गरिने भएको छ ।
(मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्ने सरकारले घोषणा गरेको छ ।
विद्यालयको आधारभुत तहदेखि खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाउने सरकारले घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजिवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने अर्थमन्त्री डा. वाग्लेले घोषणा गरेका छन् ।
यस्तै,सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न मधेश प्रदेशमा प्रस्तावित ११ औं खेलकुद प्रतियोगिताका लागि रकम छुट्टाइएको उनले जानकारी दिए ।















