सुनसरी । आठ महिनादेखि नेतृत्वविहीन बनेको कोसी प्रदेश खेलकुद विकास बोर्डको नयाँ सदस्य सचिवमा सुनसरीका विप्लव घोषलाई नियुक्त गरिएको छ । सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले बुधवार सुनसरीको इनरुवाका विप्लव घोषलाई बोर्डको सदस्य सचिवमा नियुक्त गरेका छन् ।
घोषसँगै बोर्डका उपाध्यक्ष र सदस्यहरू पनि नियुक्त गरिएका छन् । उपाध्यक्षमा विराटनगरका सन्तोषी श्रेष्ठ र वसन्तराज अर्याल नियुक्त भएका छन् ।
घोष नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव हुन् भने अर्याल अखिल नेपाल फुटबल सङ्घका पूर्व सह महासचिव हुन् ।
सदस्यहरूमा इलामका टिकाराम पुरी, उदयपुरका दुर्गा प्रसाद कठेत, ओखलढुङ्गाका विश्वराज राई, झापाकी बिना बस्नेत र बालाजित राई, सुनसरीकी सुशीला राई र ईश्वरविक्रम शाह तथा तेह्रथुमका केशव भट्टराई रहेका छन् ।
उनीहरूलाई बुधवार मध्य राति मन्त्री मेहताले शपथ ग्रहण गराएका हुन् ।
बोर्डले पूर्णता पाएसँगै प्रदेशका रोकिएका खेल गतिविधि अघि बढ्ने अपेक्षा गरिएको छ ।
यसअघि बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको कार्यकाल गत भदौ २५ गते सकिएपछि बोर्ड सात महिनादेखि नेतृत्वविहीन बनेको थियो ।
सदस्य सचिव नियुक्त हुन नसक्दा प्रदेशभरका खेल गतिविधि प्रभावित भएका थिए।
राजनीतिक भागबन्डा र दलगत स्वार्थका कारण बोर्ड नेतृत्वविहीन हुँदा नियमित प्रशासनिक कामदेखि जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता सञ्चालनसमेत अन्योलमा परेको थियो ।
स्थानीय तहहरूले विद्यालय स्तरबाट ‘राष्ट्रपति रनिङ शिल्ड’ का लागि खेलाडी छनोट गरिसके पनि बोर्डमा नेतृत्व अभावका कारण जिल्ला स्तरीय छनोट प्रक्रिया अघि बढ्न सकेको थिएन ।
नयाँ नेतृत्व आएसँगै रोकिएका प्रतियोगिता र समग्र खेलकुद गतिविधि पुनः गतिमा फर्किने अपेक्षा गरिएको छ ।

















