सुनसरी । कोशी प्रदेशमा बढ्दो सवारी चापसँगै ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने विषयमा सरोकारवालाहरूले जोड दिएका छन्। इटहरीमा आयोजित ‘कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी प्रादेशिक गोष्ठी २०८३’ मा सहभागीहरूले परम्परागत शैलीको ट्राफिक व्यवस्थापन अहिलेको अवस्थालाई धान्न नसक्ने भन्दै आधुनिक प्रविधिको प्रयोग अपरिहार्य बनेको बताएका हुन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा सम्पन्न गोष्ठीमा प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सवारी साधनको संख्या तीव्र रूपमा बढिरहेकाले ट्राफिक व्यवस्थापनलाई समयअनुकूल बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले ट्राफिक निगरानी, सवारी कारबाही, सिग्नल प्रणाली तथा सडक सुरक्षामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्ने बताए।
गोष्ठीमा सहभागी ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरूले मुख्य सहरहरूमा सवारी चाप व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको धारणा राखेका थिए। विशेषगरी इटहरी, विराटनगर, धरानलगायत क्षेत्रमा स्मार्ट ट्राफिक प्रणाली, सीसीटिभी निगरानी र प्रविधिमा आधारित सेवा विस्तार गर्नुपर्ने सुझाव दिइएको थियो।
कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनामा जनचेतना अभिवृद्धि तथा सुरक्षित यात्राका उपायबारे समेत छलफल गरिएको थियो। आयोजकका अनुसार गोष्ठीबाट प्राप्त सुझावहरूलाई आगामी ट्राफिक व्यवस्थापन योजनामा समेटिनेछ।
















