विराटनगर। कोशी प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले रोष्टमको माइक भाँचेका छन् ।
बुधबारको सभामा सदन सञ्चालनमा अवरोध गर्दै नेकपाका सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र कुमार राईले सभाको रोष्टममा राखिएको माइक खोसेका थिए । प्रदेश सभाका मर्यादापालकले खोस्न खोजपछि सो माइक भाँचिएको हो ।
कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम पारित गरेर जाने सहमति गरेको नेकपाले मङ्गलवारको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम माथि संशोधन हाल्न नदिएको भन्दै सदन अवरुद्ध गरेको थियो ।
कोशी प्रदेश सभामा सांसदलाई नीति तथा कार्यक्रममा संशोधन नै हाल्न नदिई पारित गरिएको भन्दै विपक्षी दलले बुधवार(आज) पनि सदन अवरोध गरेको हो।
कोशी प्रदेश सभामा गत जेठ ७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेको प्रश्नको मङ्गलवार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जवाफ दिएका थिए। मुख्यमन्त्रीको जवाफ दिए लगत्तै सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रमलाई निर्णायार्थ प्रस्तुत गरेका थिए।
‘हुन्छ भन्नेले हुन्छ भन्ने र हुन्न भन्नेले हुन्न भन्ने’ मत विभाजन पछि ‘हुन्छ’ भन्ने पक्षका सांसदले मात्रै हुन्छ भने, हुन्न भन्ने सांसद कोही बोलेनन्। जब नीति तथा कार्यक्रम पारित भयो तब मात्रै विपक्षी नेकपाका सांसदहरूले नियम मिचेको भन्दै प्रदेश सभामा उठेर अवरोध गरेका थिए।
बुधवारको बैठकमा पनि नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले संशोधन प्रस्ताव हाल्नका लागि दिनु पर्ने समय नदिएको बताएका थिए। १७ जना विपक्षी सांसदले नीति तथा कार्यक्रममा असन्तुष्टि जनाउँदै सुझाव दिएको भए पनि संशोधन हाल्न नदिएकोले यसलाई सच्याएर जान आग्रह गरे।
उनले भने, ‘संशोधन हाल्न दिइनु पर्ने समयमा कुनै पनि समय दिइएन यो हामी मान्न तयार छैनौँ।’ यति बोलिसकेपछि सभामुख अम्बरबहादुर विष्टले सदन सुचारु गर्न जसपाको तर्फबाट दलको नेता निर्मला तावा लिम्बुलाई बोल्न समय दिएका थिए। लगतै प्रतिपक्षी दलले सदन घेराउ गर्न पुगेको थियो।
पूर्व मुख्यमन्त्री समेत रहेका प्रदेश सभा सदस्य राजेन्द्र कुमार राईले रोष्टमको इक थुतर भाँचेका थिए। प्रक्रियामा सहभागी हुने अनि सदनको माइक नै भाँचिएपछि सभामुख कड्किएका थिए।
प्रदेश सभा सञ्चालन नियमावलीको दफा ३७ मा प्रदेश सभा सदस्यहरूले संशोधन हाल्न सक्ने व्यवस्था भए पनि त्यही बुँदालाई टेकेर नै सभामुखले उपयुक्त ठहर्याएमा मात्रै संशोधन हाल्न दिन सक्ने भन्ने व्याख्या गरेका छन्। यसलाई विपक्षीले मानेका छैनन्। कार्य व्यवस्था समितिमा निर्णय भएका कुरालाई दलले आफैँले कुल्चिएको सत्ता पक्षीय सांसदको भनाई छ।
नीति तथा कार्यक्रम पारित हुँदासम्म चुप लागेर सुतेर बसेको प्रतिपक्ष सांसदहरू पारित भइसकेको विषयलाई लिएर अहिले सदनमा तोडफोडमा नै उत्रिएको छ। सदन घेराउ गर्न गएका सांसद राईले सभामुखलाई भन्दै थिए, ‘तपाईँ आफ्नो तरिकाले जानुस्, हामी हाम्रै तरिकाले जान्छौैँँ।’ निक्कै बेरको रस्साकस्सी पछिको सदन आधा घण्टासम्मको लागि स्थगित भएको छ।
















