सुनसरी । नेपाली कांग्रेसको कोसी प्रदेशस्तरीय भेलाले प्रदेशको विकास, संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र नागरिक सेवाको प्रभावकारितालाई केन्द्रमा राख्दै २८ बुँदे ‘कोसी संकल्प’ सार्वजनिक गरेको छ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा आयोजना गरेको दुई दिने ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’  सम्पन्न भएपछि उक्त संकल्पपत्र जारी गरिएको हो।

संकल्पमा कोसी प्रदेशका पर्यटकीय गन्तव्य, किरात सभ्यता, स्थानीय विकास र सामाजिक–आर्थिक सशक्तीकरणका विविध विषय समेटिएका छन्।

संकल्पपत्रमा महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै ‘उद्यमी आमा’ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। महिलामा रहेका परम्परागत सीप तथा ज्ञानलाई आयआर्जनसँग जोड्दै उद्यमशीलतामा रूपान्तरण गर्ने लक्ष्य कार्यक्रमले लिएको जनाइएको छ।

यस्तै, स्थानीय तहबाट प्रवाह हुने सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यसहित ‘घरआँगन सेवा’ कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि संकल्पपत्रमा गरिएको छ। जन्मदर्ता, मृत्युदर्ता, स्वास्थ्य बिमा दर्ता तथा नवीकरणलगायत सेवा अनलाइन माध्यमबाट वा नागरिककै आँगनमा पुगेर उपलब्ध गराउने योजना उल्लेख गरिएको छ।

कांग्रेसले संकल्पपत्रमार्फत प्रदेश विकासलाई केवल पूर्वाधार निर्माणमा सीमित नराखी सांस्कृतिक पहिचान, स्थानीय स्रोतको उपयोग तथा नागरिकमैत्री सेवा प्रणालीसँग जोडेर अघि बढाउने संकेत गरेको छ।