इटहरी । तेस्रो इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको फाइनल समीकरण तय भएको छ । शुक्रबार सम्पन्न दुई सेमिफाइनल खेलमा कटहरी गाउँपालिका र विराटनगर महानगरपालिका विजयी हुँदै उपाधि नजिक पुगेका छन् । दुवै खेलमा इटहरी उपमहानगरपालिकाका रेड र ग्रीन टोली पराजित भएसँगै घरेलु टोलीको चुनौती सेमिफाइनलमै समाप्त भएको छ ।

जनता पार्क (डीभीएम स्कुल मैदान) मा सम्पन्न पहिलो सेमिफाइनलमा कटहरी गाउँपालिकाले इटहरी उपमहानगरपालिका (रेड) लाई १२ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनाएको थियो । टोलीका लागि दिपु भुजेल र निर्देश बस्नेतले समान २२–२२ रन बनाए भने प्रेम कामतले १५ बलमा १९ रनको योगदान दिए ।

इटहरी रेडका बलरमध्ये प्रकाश कार्की र विकल्प आचार्यले समान २–२ विकेट लिए भने भुपाल लुइटेलले १ विकेट हात पारे ।

जवाफी ब्याटिङमा उत्रिएको इटहरी रेडले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो । भुपाल लुइटेलले सर्वाधिक ३८ बलमा ५१ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । गौरव कटवालले ३३ रन जोडे ।

कटहरीका प्रेम कामत खेलका नायक बने । उनले ४ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए भने ब्याटबाट पनि महत्वपूर्ण १९ रन बनाए । बिकाश कामतले २ विकेट लिएर टोलीको जितमा साथ दिए । उत्कृष्ट प्रदर्शनका लागि प्रेम कामत ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

यस्तै दोस्रो सेमिफाइनलमा विराटनगर महानगरपालिकाले इटहरी उपमहानगरपालिका (ग्रीन) माथि ५९ रनको प्रभावशाली जित निकाल्दै फाइनल यात्रा तय गर्‍यो ।

पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो । फिर्दोस अन्सारीले ३७ रन बनाए भने दीपक पासवानले ३२ र कृतिक कामतले २२ रनको योगदान दिए ।

इटहरी ग्रीनका प्रशान्त साहले ४ विकेट लिएर बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको इटहरी ग्रीन १६.१ ओभरमै ८७ रनमा समेटियो । भरत कार्कीले सर्वाधिक ३५ रन बनाए भने विधान चन्द गोस्वामीले १७ रनको योगदान दिए । विराटनगरका दिपेश कँडेल, प्रतिक पोखरेल र अमर यादवले समान ३–३ विकेट लिएर इटहरी ग्रीनको ब्याटिङ लाइनअप धराशायी बनाए ।

उत्कृष्ट बलिङ प्रदर्शन गरेका प्रतिक पोखरेल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

अब प्रतियोगिताको उपाधिका लागि कटहरी गाउँपालिका र विराटनगर महानगरपालिका शनिबार आमनेसामने हुनेछन् ।